लिलिपुटबारे पूर्व प्रधानमन्त्री ओलीको दाबी गलत

Sanjog Shiwakoti / बिहीबार, भाद्र २४, २०७८

राष्ट्रिय युवा संघद्वारा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली । तस्बिर : यूट्यूब स्क्रिनसट

नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय संगठन विभागले गत भाद्र २१ गते आयोजना गरेको बृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले हाल बनेको गठबन्धनको सरकारका बारेमा विभिन्न टिकाटिप्पणी गरेका छन् । हालै मात्रै एमालेबाट अलग भएका माओवादी र माधव नेपाल पक्षप्रति लक्षित गर्दै उनले तिनलाई अफ्रिकाका सानो मानव जातिको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, “एउटा जाति हुन्छ, अफ्रिकामा लिलिपुट भन्ने, सानो । उनीहरुको प्रजनन उमेर भनेको सात/आठ वर्षमा हुन्छ । पन्ध्र वर्ष सम्ममा उनीहरु बुढापाका भइसक्छन् । प्रजनन उमेर सिद्दिन्छ । र, बिसदेखि बढी बाँचे हाम्रो सय वर्ष नाघेकोमा खुशी हुन्छौं नि, त्यस्तै पच्चिस वर्ष कोही पुग्यो भने उधुम हो, नत्र २० वर्षमा बितिसक्छ । त्यस्तो एउटा सानो जाति हुन्छ, बेग्लै खालको । लिलिपुट भन्छन् ।”

साउथ एसिया चेकले ओलीको दाबी कति सत्य छ भनी जाँच गरेको छ ।

ओलीले अफ्रिकामा लिलिपुट नाम गरेको एक सानो मानव जाति रहेको दाबी गरेका छन् । तर लिलिपुट नाम गरेको सानो मानव जाति संसारको कुनै पनि कुनामा छैन । लिलिपुट कुनै जातिको नाम नभई अंग्रेजीभाषी साहित्यकार जोनाथन स्विफ्टले लेखेको चर्चित उपन्यास ‘गलिभर्स ट्राभल्स्’ मा उल्लेख गरिएको एक काल्पनिक टापुको नाम हो । १८ औं शताब्दीमा प्रकाशित उपन्यासमा प्रमुख पात्र लमियुल गलिभर नामक डाक्टरले गरेको यात्रामा भएका घटनाहरु समेटिएको छ । उक्त उपन्यासमा ती पात्रले गरेका विभिन्न ठाउँहरुको यात्राकाे चित्रण छ । तिनै ठाउँहरुमध्ये गलिभरले यात्रा गरेको पहिलो टापुको नाम हो, लिलिपुट । त्यो काल्पनिक टापु एकदमै सानो रहेको र त्यहाँ बसोबास गर्ने मानिसहरुको उचाइ ६ इन्च मात्र हुने उपन्यासमा उल्लेख छ  । लेखकले लिलिपुटमा बस्ने ती साना मानिसहरुलाई लिलिपुटियन्स नाम दिएका छन् । बेलायतको ‘द गार्डियन’ समाचारपत्रमा सन् २०१३ मा प्रकाशित एक लेखमा गलिभर्स ट्राभल्स्लाई विश्वका उत्कृष्ट १०० उपन्यासमध्ये एक मानिएको थियो । जोनाथन स्विफ्टले उक्त उपन्यासमा लिलिपुटियनको शारीरिक विशेषताबारे केही उल्लेख गरेका छैनन् । तर उनीहरुलाई चलाख, स्वार्थी र हिंसात्मक मान्छेको रूपमा वर्णन गरेका छन् । उनले लिलिपुटको छिमेकी शत्रुको रुपमा अर्को सानो टापु ‘ब्लाफुस्कु’ को कल्पना गरेका छन्, जस्मा बसोबास गर्ने साना मानिसहरुलाई ‘ब्लाफुस्कुडियन्स’ नाम दिइएको छ ।

संसारभरि लिलिपुट नामको कुनै पनि जाति नरहेको र यो शब्द मात्र काल्पनिक रुपमा लेखकले आफ्नो उपन्यासमा प्रयोग गरेको पाइएको छ ।

हामीले यस विषयमा थप खोजी गर्दा ओलीले उल्लेख गरेको विवरण अफ्रिका र एसियामा बस्ने ‘पिग्मीज’ नामक एक मानव जातिसँग मेल खाएको पाइयो । शिकार गर्ने यी जाति सामान्यतया पाँच फिट अग्ला हुन्छन् । इन्साइक्लोपेडिया ब्रिटानिकाको अनलाइन संस्करणका अनुसार सबैभन्दा प्रख्यात पिग्मी समूह अफ्रिकामा भुमध्य रेखाको दायाँ-बायाँ बस्दछन् । पिग्मीज भनेर मुख्यत: यी समूहलाई चिनिन्छ । तिनीहरू क्यामरून, रुवाण्डा, बुरुन्डी, कंगो जस्ता मध्य र पश्चिम अफ्रीकी मुलुकका जंगलमा बस्छन् । तिनीहरुको जनसंख्या १२०,००० भएको अनुमान छ  । एशियामा पिग्मीज नेग्रिटोसको नामले चिनिन्छ।

रुवाण्डाको रुदुहा गाउँमा बच्चा बोकिरहेकी एक पिग्मी महिला, जुलाई २०१९ । तस्बिर : स्टुअर्ट एस्याक ह्यारियर/अनस्प्ल्यास

पिग्मीजहरुको औसत आयु १६ देखि २४ वर्षको हुने गर्दछ । औसत आयु कम भएकै कारण उनीहरु चाँडै यौवनावस्थामा प्रवेश गर्दछन्

ओलीले आफ्नो भाषणमा साना मानिस भनी पिग्मीजको बारेमा उल्लेख गरेका हुन सक्छन् । तर अफ्रिकामा रहेका साना मानव जातिलाई लिलिपुट भनिन्छ भन्ने उनको दाबी गलत छ किनकि लिलीपुट एक काल्पनिक टापु हो । ओलीले गरेको दाबी पिग्मीजको जैविक विशेषतासँग भने मिल्दोजुल्दो पाइएको छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री