नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल यी भिडियो विदेशका हुन्
Sanjog Shiwakoti / बिहीबार, कार्तिक ४, २०७८
विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरु सक्रिय रहेको भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरुको वृद्धिसँगै भ्रामक सूचना फैलिने क्रम पनि बढेको छ । नेपालमा हालै भएको वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी र पहिरोसम्बन्धी विभिन्न भिडियो र सुचनामुलक सामग्री टिकटकमा व्यापक रुपमा शेयर गरिएको छ । त्यस्ता अधिकांश सामग्री सही भए पनि कतिपय भिडियो नेपालका नभई विदेशमा आएका बाढीका भएको फेला परेको छ । यस्तै भाइरल भएका ३ भिडियोहरुको साउथ एसिया चेकले तथ्य-जाँच गरेको छ ।
पहिलो भिडियो:
खोलाको किनारमा रहेको सेतो रङ्गको पक्की घर भत्किएर खोलातिर ढलेको भिडियो @sunilraut854 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो । उक्त भिडियोमा “भाग भाग सब भाग है” भन्दै गरेको अडियो सुन्न सकिन्छ । उक्त भिडियोमा २४ हजार भन्दा धेरै प्रतिक्रियाहरु आएका छन् भने ५०१ पटक शेयर भएको छ । सुन्दा सोही भिडियोको अडियो जस्तो लागे पनि उक्त भिडियोमा अर्कै सन्दर्भको अडियो क्लिप समावेश गरिएको हो ।
उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’ गर्दा हामीले सोही भिडियो द टाइम्स अफ इन्डियाको वेबसाइटमा फेला पार्यौ । ४६ सेकेन्ड लामो भिडियो गत कार्तिक १ गते द टाइम्स अफ इन्डियाको वेबसाइटमा प्रकाशित भएको थियो । उक्त मिडियाले दक्षिण भारतको केरला राज्यको कोत्याम जिल्लामा भएको वर्षाका कारण खोलाले घर बगाएको दृश्य भएको उल्लेख गरेको छ ।
सोही भिडियोको छोटो क्लिपलाई अर्को अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको पत्ता लगेको हो ।
दोस्रो भिडियो:
हेर्दा सुन्दर देखिने कालो पत्रे सडक जोड्ने पुल बाढीले बगाउँदै गरेको एक भिडियो @tagebista नामक टिकटक एकाउन्टबाट गत कार्तिक २ गते शेयर गरिएको थियो । उक्त भिडियोमा ‘ए माया’ नामक नेपाली गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ । उक्त भिडियोमा उनले ‘SETI River’ र ‘2078/07/02’ भनी उल्लेख गरेका छन् । यो सँगसँगै ‘सेती नदीमा बाढीको खतरा बढ्दै गएपछि गाडिहरु चल्न दिएको छैन, त्यसैले सबै जना सतर्क रहनुहोला’ भनी उल्लेख गरिएको छ । सो भिडियोमा करिब ७३ हजार प्रतिक्रियाहरु आएका छन् भने १०४२ पटक शेयर भएको छ ।
उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’ गर्दा हामीले सोही भिडियो बेलायतको ‘द इन्डिपेन्डेन्ट’ नामक अखबार वेबसाइटमा फेला पारेका छौं । १ मिनेट १४ सेकेन्ड लामो भिडियो द इन्डिपेन्डेन्टमा गत साउन २४ गते प्रकाशित भएको थियो । उक्त भिडियोको दृश्य समुद्री आँधीका कारण आएको बाढीले दक्षिणी ताइवानको एक पुल भत्काएको घटनाको रहेको पाइएको छ ।
यही भिडियोको छोटो क्लिपलाई अर्कौ अडियोसँग मिसाई टिकटकमा शेयर गरिएको फेला परेको छ ।
तेस्रो भिडियो:
केही मानिसहरु एक नदीको बाँधबाट ठूलो मात्रामा पानी निस्किरहेको दृश्य हेरिरहेको एक भिडियो @rajusingh43540 नामक टिकटक एकाउन्टबाट कार्तिक २ गते शेयर गरिएको थियो । उक्त भिडियोमा एक हिन्दी गीतको छोटो अंश अडियोको रुपमा प्रयोग गरिएको छ । उक्त भिडियोमा उनले ‘Koshi bridge 56 uta dhoka open today’ भनी उल्लेख गरेका छन् ।
सो भिडियोमा करिब ३५ हजार प्रतिक्रियाहरु आएका छन् भने ३६४ पटक शेयर भएको छ । उक्त भिडियोको स्क्रिनसट लिई सो स्क्रिनसटको ‘reverse image search’ गर्दा हामीले सोही भिडियो एक यूट्यूब च्यानलमा फेला पारेका छौं । ‘Jayesh Dave JD’ नामक यूट्यूब च्यानलमा २०७६ साल साउन २८ गते “Mahi Dam Banswara 2019 l Mahi Bajaj Sagar Bandh Banswara” शीर्षक राखी अप्लोड गरिएको छ । यो भारतको राजस्थान राज्यस्थित माही नदीको बाँधको भिडियो भएको पत्ता लागेको छ ।
यही भिडियोको छोटो क्लिपलाई अर्कै अडियोसँग मिसाई टिकटकमा अप्लोड गरिएको हो ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत