संविधानको मस्यौदा पञ्चायती संविधानभन्दा कठोर ?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

संविधानसभाले तयार पारेको संविधानको मस्यौदामा रहेका नागरिकतासम्बन्धी कतिपय व्यवस्था ‘निरंकुश राजतन्त्रात्मक शासन प्रणाली र निर्दलीय व्यवस्थामाभन्दा पनि जटिल र कठोर बनाइएको’ भनी संघीय समाजवादी फोरम, नेपाललले दाबी गरेको छ ।

सो पार्टीको विचारको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला farak mat by Upendra Yadav

यहाँ सो पार्टीको दावी सही हो कि होइन भन्नका लागि सो पार्टीले जटिल र कठोर ठानेका, हालको प्रारम्भिक मस्यौदामा रहेका विभिन्न प्रावधानलाई नेपालको संविधान–२०१९ सँग तुलना गरिएको छ ।

नेपाल सरकार वैधानिक कानून–२००४ पनि निरंकुश शासकले बनाएको थियो । तर त्यसमा नागरिकता सम्बन्धी प्रावधान नभएकाले नागरिकताका विषयमा त्योसँग अहिलेको मस्यौदाको तुलना गर्न सकिँदैन ।

संघीय समाजवादी फोरमले संविधानको मस्यौदामा रहेका चारवटा प्रावधानलाई निरंकुश राजतन्त्रात्मक शासन प्रणाली र निर्दलीय व्यवस्था’माभन्दा जटिल र कठोर मानेको छ ।

फोरमले कठोर र जटिल मानेको प्रावधान नेपालको संविधान–२०१९ मा भएको यस सम्बन्धी प्रावधान तुलना
कुनै व्यक्ति जन्म हुँदाको बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्तिलाई बंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने । संविधान जारी हुँदाका बखत नेपालमा जन्मिएको, आमाबाबुमध्ये एकजना नेपालमा जन्मिएको र नेपालमा स्थायी बासस्थान भएको व्यक्तिलाई नेपालको नागरिकता प्रदान गरिनेछ ।यसले नागरिकतालाई बंशज अथवा अंगीकृत भनि छुट्याएको छैन। नागरिकतालाई बंशज र अंगीकृत भनि विभाजन गर्ने अहिलेको संविधानको मस्यौदा पञ्चायती शासनताकाको संविधानभन्दा कठोर देखिन्छ ।
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले अंगीकृत नागरिकता लिन चाहेमा नेपालमा १५ वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएमा कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने । तर, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपालको नागरिकता लिन चाहेमा निजले विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएपछि कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने । नेपाली नागरिकसँग विवाह गरेकी विदेशी नागरिकले विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता दिइने ।नेपाली नागरिकसँग विवाह गरेका विदेशी पुरुषलाई कसरी नागरिकता दिने भन्नेबारे संविधान मौन छ । अन्य विदेशीले नेपाली नागरिकता लिन चाहेमा कम्तिमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको हुनुपर्ने प्रावधान सो संविधानमा थियो । तसर्थ, नेपाली नागरिकसँग बिहे गर्ने विदेशी पुरुषले पनि नेपालको नागरिकता लिन १५ वर्ष पर्खिनुपर्ने शर्त सो संविधानले राखेको थियो । यी दुबै संविधानमा यस सम्बन्धी प्रावधान उस्तै देखिन्छन् । तसर्थ, यस प्रावधानका आधारमा संविधानको अहिलेको मस्यौदा नेपालको संविधान–२०१९ भन्दा जटिल र कठोर भएको भन्न मिल्दैन ।
विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले कानूनबमोजिम नेपाली अङ्गीकृत नागरिकता प्राप्त गर्ने । संविधान जारी हुँदाका बखत नेपालमा जन्मिएको, आमाबाबुमध्ये एकजना नेपालमा जन्मिएको र नेपालमा स्थायी वासस्थान भएको व्यक्तिलाई नेपालको नागरिकता दिने । हालको मस्यौदाको प्रावधानअन्तर्गत जुन शर्त पूरा गर्दा अंगीकृत नागरिकता पाइन्छ त्यो शर्त पूरा गर्दा नेपालको संविधान–२०१९ अन्तर्गत वंशज सरहकै नागरिकता प्राप्त हुन्थ्यो । तसर्थ, यस प्रावधानका आधारमा अहिलेको मस्यौदा नेपालको संविधान–२०१९ भन्दा ‘कठोर र जटिल’ देखिन्छ ।
कुनै व्यक्तिको नेपालमा जन्म हुँदाका बखत निजको आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेकोमा नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुबै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिलाई बंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने । संविधान जारी हुँदाका बखत आमाबाबुमध्ये एकजना नेपालमा जन्मेकोले नेपालको नागरिकता पाउनेछ । अहिलेको संविधानको मस्यौदाले बंशजको नागरिकता हासिल गर्न बाबु र आमा दुबैको नागरिकता हुनुपर्ने शर्त राखेको छ । नेपालको संविधान–२०१९ ले बाबुआमामध्ये एकजना नेपालमा जन्मिएको भए उसलाई नागरिक मानेको थियो । तसर्थ, यस प्रावधानका आधारमा अहिलेको मस्यौदा नेपालको संविधान–२०१९ भन्दा कठोर र देखिन्छ ।

सुजित मैनाली / बुधबार, साउन २७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री