तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो

South Asia Check / आइतबार, जेठ १५, २०७९

प्रविण भट्ट/साउथ एसिया चेक

जेठ १५ गते बिहान पोखराबाट मुस्ताङ्गको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि त्यसबारे समाचार प्रकाशित भए। विहान ९ः५५ बजे पोखरा बिमानस्थलबाट उडेको विमान बीच बाटोबाटै सम्पर्कविहीन भएको थियो। विमान हराएको खबर प्रकाशित भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले दुर्घटनाको आशङ्का गर्दै विभिन्न सामग्री शेयर गरे।

विमानको दुर्घटना स्थलको ताजा दृष्य प्राप्त भएको तर विमान कहाँनेर दुर्घटना भएको हो यसै भन्न नसकिने भन्ने दाबीका साथ एभिन्युज टेलिभिजनले फोटो सहित समाचार प्रसारण गर्यो।  

एभिन्युज टिभीद्वारा प्रसारित फोटो

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा उक्त विमानबारे खबर फैलिएपछि दुर्घटना भएको तस्बिर सेयर गर्ने होडबाजी चल्यो।

फेसबुकमा सेयर भएको फोटो
ट्वीटरमा सेयर भएको फोटो

तारा एयरको दुर्घटनाको भन्दै शेयर गरिएका तस्बिरको हामीले तथ्य जाँच गरेका छौँ।

दुर्घटनाग्रस्त विमानको अवशेष देखिने सो फोटोलाई हामीले गुगल रिभर्स इमेज सर्च गरेर हेर्याै। त्यसाे गर्दा एभिन्युज टेलिभिजनले प्रसारण गरेको तथा सामाजिक सञ्जालमा शेयर भएको उक्त फोटो नेपालको नभई सन् २०२१ काे डिसेम्बरमा दक्षिण भारतकाे तमिलनाडु राज्यको कुन्नुरमा जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटनाको भएको फेला परेको छ। सन् २०२१ डिसेम्बर ९ मा इन्डिया टुडेमा प्रकाशित “सि.डि.एस. बिपिन रावत्स चपर क्र्यास ब्ल्याक बक्स रिकभर्डः ह्वाट इज ब्ल्याक  बक्स?” शीर्षकको समाचारमा यही फोटो प्रकाशित भएको थियो। उक्त समाचारमा भारतीय समाचार स‌ंस्था प्रेस ट्रष्ट अफ इन्डियाले उक्त फोटो उपलब्ध गराएको उल्लेख छ । त्याे भारतीय सेनाका जनरल बिपिन रावत सवार रहेको दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष रहेको पुष्टि गरेको छ। हामीले यसअघि पनि उक्त दुर्घटनाबारे फैलिएकाे गलत तस्बिरकाे तथ्य जाँच गरेका छाैँ ।

इन्डिया टुडेमा प्रकाशित भारतमा भएको दुर्घटनाको फोटो

तसर्थ एभिन्युज टिभीले प्रसारण गरेको र सामाजिक सञ्जालमा फैलिएको उक्त फोटो तारा एयरको जेठ १५ मा दुर्घटनामा परेको विमानको नभई सन् २०२१ डिसेम्बरमा भारतको तमिलनाडुस्थित कुन्नुरमा भएको हेलिकप्टर दुर्घटनाको भग्नावशेषको हो। 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री