स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत

South Asia Check / सोमबार, बैशाख २६, २०७९

प्रविण भट्ट / साउथ एसिया चेक

नेपालमा आगामी बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ। यही सन्दर्भमा बैशाख २७ गतेदेखि ३ दिनसम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने भनी विभिन्न अनलाइनले बैशाख २३ मा समाचार प्रकाशित गरेका थिए। याे समाचार लाेकप्रिय एप हाम्रो पात्रो मार्फत पनि फैलिएको थियो। हाम्रो पात्रोमा ई-कागजकलाकर्मीको लिङ्क राखिएको थियो। ती समाचारमा बैशाख २७ गतेदेखि अन्तर्राष्ट्रिय उडान तीन दिनका लागि बन्द गर्न निर्वाचन आयोगले सरकारलाई पत्र पठाउने बारे उल्लेख गरिएको थियो। ईकागजले भने सोही दिन नै समाचार सच्याएको थियो।

दृष्टि न्युज ले पनि यही समाचार बैशाख २३ गते प्रकाशित गरेको थियो। दृष्टि न्युजको समाचारमा भनिएको छ,  “२७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।” 

यसै बिषयमा बाह्रखरीका सम्पादक प्रतिक प्रधानले समेत बैशाख २३ गते यस्तो ट्विट गरेका थिए, “सुन्नुभो ? स्थानीय निर्वाचनका लागि अन्तर्राष्ट्रिय उडान तीन दिन रोक्ने रे  । पागलहरूको बस्ती।” 

हामीले यो दाबीको तथ्य जाँच गरेका छौं।

कान्तिपुर दैनिकले २३ बैशाखमै “चुनावमा विमानस्थल बन्द नहुने” शीर्षकमा समाचार छापेको थियाे। कान्तिपुरको समाचारमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको भनाइ राखिएको छ । “स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द हुँदैन,” उनले भनेका छन्। साथै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि हालसम्म काठमाडौं लगायत देशभरका विमानस्थल बन्द गर्ने कुनै पनि निर्णय नभएको बताएको कान्तिपुरको समाचारमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले समेत स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आगमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ बैशाख २२ गते जारी गरेको छ। उक्त मापदण्डको ४ नंमा मतदानका दिन विमानस्थल आवतजावत गर्ने व्यवस्था सम्बन्धी मापदण्डमा हवाई टिकट, पासपोर्ट र भिसाको आधारमा आवतजावत सहजीकरण काठमाण्डौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउनु पर्ने उल्लेख गरेको छ।

निर्वाचन आयोगले नै सवारी आगमन मापदण्डमा विमानस्थल आवतजावतको ब्यवस्था गरेकाले मतदानको  दिन अन्तर्राष्ट्रिय उडान हुने स्पष्ट हुन्छ।

तसर्थ, स्थानीय निर्वाचनको बेला तीन दिन अन्तर्राष्ट्रिय उडान बन्द हुने दाबी गलत हो। निर्वाचनका बेला अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदैन। 

स्थानीय तह सदस्य निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने वायुसेवा संचालक संघले जनाएको छ। मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक स्थानीय तह निर्वाचन हुने मितिमा संघमा आबद्ध सबै वायुसेवाको नियमित उडान बन्द रहने संघले बैशाख २५ मा जारी विज्ञप्तिमा उल्लेख छ।

*यसअघि विमानस्थल भएकाेमा सच्याइएकाे छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री