टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक

South Asia Check / शुक्रबार, भाद्र ३१, २०७९


प्रविण भट्ट/साउथ एसिया चेक 

शहरको बीचमा हराएको ईच्छुमती खोला खोज्ने सिलसिलामा काठमाडौं महानगरपालिकाले श्रावण १२ गते ३५ दिने सुचना जारी गर्दै नदीमाथि सम्भाव्य रुपमा बनाइएका मापदण्ड विपरीतका घर/टहरा हटाउन आग्रह गर्दै त्यसो नगरे नियमानुसार कारवाही गर्ने जनाएको थियो। त्यसै अनुसार, बिहिवार महानगरले जय नेपाल सिनेमा हल परिसरमा उत्खनन गर्दा स्थाई संरचनाको १५ फिटमुनि ईच्छुमती खोला(टुकुचा) बगिरहेको भेटियो। भवन बनेको ठाउँमा टुकुचा भेटिएपछि, सामाजिक सञ्जालमा यसबारे बहस चल्न थाल्यो। नेपालमा नाम चलेका अनलाइनले पनि यसबारे सामाचार सम्प्रेषण गरे।

यसैक्रममा बाह्रखरी अनलाइनले टुकुचा खोलामाथि नारायणहिटी राजदरबार बनेको भनि खबर सम्प्रेषण गर्यो। बाह्रखरीले सो खबर फेसबुक पोष्टमार्फत पनि सम्प्रेषण गरेको छ। साथै, यही व्यहोराको खबर सामाजिक सञ्जाल फेसबुकमा समेत विभिन्न प्रभावशाली पेजहरुबाट फेसबुक स्टाटसका रुपमा सम्प्रेषण गरिएको पाइयो।

बाह्रखरीले फेसबुकमा राखेको पोष्टको स्कृनसट

ज्वाला संग्रौला नामक फेसबुक प्रयोगकर्ताले, “टुकुचा खोलामाथि नारायणहीटी राजदरबार, जय नेपाल हल, न्यु प्लाजा लगायत सयौँ ठूल्ठूला भवन निर्माण भएका रहेछ्न! खोलानाला बेचिएका मात्र होइन, पुरिएका पनि रहेछ्न ! बालेनले सबका सब यतिबेला धमाधम खोतल्दै गर्दा उनको सुरक्षा ब्यबस्था कडा गरिनु पर्यो किनकी उनले पुराना तथा नया राजा महाराजाले हडपेको इलाका पनि सजिलै आक्रमण गरेर जनताको कित्तामा ल्याउन सफल भएका छ्न!  Go ahead balen!” लेखेकी छिन्। उनको यो पोष्टमा ८ हजार ८ सय जनाले लाइक गरेका छन् भने २ सय ११ पटक सेयर गरिएको छ।

ज्वाला संग्रौला नामक फेसबुक प्रयोगकर्ताको फेसबुक पोष्टको स्कृनसट

नेपाली न्युज नामक अर्को फेसबुक पेजले पनि खोलामाथि नारायणहिटी राजदरबार बनेको दाबी सहित पोष्ट गरेको छ। सो पोष्ट ११ हजार जानाले लाइक गरेका छन् भने १ सय ६९ पटक सेयर गरिएको छ।

नेपाली न्युज नामक फेसबुक पेजको स्कृनसट

फेसबुकमा “टुकुचा खोलामाथि नारायणहिटी राजदरबार” कीवर्ड राखेर खोजी गर्दा यही दाबीका साथ धेरै पोष्ट भेटिन्छन।

बालेन साह फ्यान क्लब नामक फेसबुक पेजको स्कृनसट

साउथ एसिया चेकले यो दाबीको तथ्यजाँच गरेको छ

नारायणहिटी राजदरबार टुकुचा खोलामाथि बनेको छ/छैन थाहा पाउन हामिले गुगल म्याप्स (नक्सा) को सहयोग लियौं। गुगलम्याप्समा भू-उपग्रहबाट खिचिएको तस्बिर हेर्दा महानगरले टुकुचा खोला भेटेको ठ्याक्कै पारिपट्टि दरबार क्षेत्रको कम्पाउण्डभित्र खोला प्रष्ट देख्न सकिन्छ। गणतन्त्र स्मारकको पछाडिको भाग खोलासंगै रहेको छ। ‘गुगल अर्थ प्रो’ मा खोलाको चौडाई नापेर हेर्दा सरदर ४.१२ मिटर भएको पाईयो। 

गुगल अर्थमा देखिएको नारायणहिटी दरबार क्षेत्र भित्रको टुकुचा खोला

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका लागि बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले टुकुचा खोलाको करिडोर व्यवस्थापनका लागि भाद्र ३०, २०७७ मा तयार पारेको पूर्वसम्भाव्यता प्रतिवेदनमा नदीलाई १० खण्डमा बिभाजित गरी अध्ययन गरिएको छ, जसमा  नारायणहिटी दरबार क्षेत्र खण्ड ३ मा पर्ने बताइएको छ। प्रतिवेदनमा “निषेधित क्षेत्र भएकाले यहाँ ड्रोनबाट तस्बिर नलिइएको र भू-उपग्रहबाट खिचिएका तस्बिरहरु हेर्दा सो क्षेत्रमा खोला सुरक्षित रहेको देख्न सकिन्छ” भन्ने बिवरण रहेको छ। प्रतिवेदनमा यो खण्डको लम्बाई ४ सय ८० मिटर रहेको उल्लेख गरिएको छ।

गणतन्त्र स्मारक बन्नु अगाडी नाराणहिटी दरबार क्षेत्रमा टुकुचा खोला
गणतन्त्र स्मारक बन्न सुरु भएपछि नारायणहिटी दरबार क्षेत्रमा टुकुचा खोला
पूर्वसम्भाव्यता प्रतिवेदनमा भएको बिवरण

भू-उपग्रहले खिचेको फोटोमा नारायणहिटी भित्र खोलामाथि कुनै किसिमको भवन बनेको देखिँदैन। तसर्थ, टुकुचामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक भएको पुष्टि हुन्छ।

तथ्यजाँचः

दाबीः नारायणहिटी दरबार टुकुचा खोला माथि बनेको छ।

दाबी कर्ता: मिडिया रिपोर्ट तथा फेसबुक प्रयोगकर्ता

तथ्यजाँचः भ्रामक, नारायणहिटी क्षेत्रभित्र टुकुचा खोला बगिरहेको देख्न सकिन्छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री