नेपालका कुरा मिलेनन्

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेकपा–एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिमालय टिभीबाट भदौ २७ गते प्रसार भएको अन्तर्वार्तामा भनेका निम्न तीन कुरा सही छन्/छैनन् भनी साउथ एशिया चेकले जाँचेको छः

पहिलोः संशोधन प्रस्ताव विदेशीहरूका निम्ति ल्याइएको हो…त्यसले विदेशीहरूलाई हित गर्छ। विदेशीलाई राष्ट्रपति बनाउनुपर्‍यो रे, प्रधानमन्त्री बनाउनुपर्‍यो रे। नेपालका मधेसीलाई होइन, आयातितहरूलाई बनाउनुपर्‍यो भनेर (संशोधन प्रस्ताव ल्याइएको थियो)।

व्यवस्थापिका संसद्ले भदौ ५ गते अस्विकार गरेको संविधान संशोधन विधेयकबारे टिप्पणी गर्ने क्रममा नेता नेपालले यस्तो बताएका हुन्। ‘विदेशी’ र ‘आयातित’ भनेर उनले अंगीकृत नागरिकतर्फ संकेत गरेका हुन्। संशोधन विधेयकमा अंगीकृत नागरिकलाई पनि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सुरक्षा अंगका प्रमुखजस्ता राज्यका सर्वोच्च पदका निम्ति योग्य मान्नुपर्ने प्रावधान थियो भनेर उनले भन्न खोजेका हुन्। तर संशोधन विधेयकमा त्यस्तो प्रवधान थिएन।
तसर्थ, उनको यो दाबी गलत छ।

दोस्रोः नेपाली सेनामा महिलालाई प्रवेश गराउने नीति थिएन। म प्रधानमन्त्री हुँदाखेरि राजविराजमा स्पेसल क्याम्प खोलेर महिलाहरूलाई प्रवेश गराएको थिएँ।

नेता नेपाल विसं २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्री रहेका थिए। त्यस अवधिमा आफूले महिलालाई पहिलोपटक सेनामा प्रवेश गराएको उनको दाबी छ। तर, नेपाली सेनाले प्राविधिक सेवामा महिलालाई विसं २०१८ तिर नै लिन थालिसकेको थियो। माओवादी विद्रोह उत्कर्षमा पुगेको बेला विसं २०६१ मा नेपाली सेनाले फौजी फाँटमा पनि महिलालाई लिन सुरु गर्‍यो। त्यतिबेला माधवकुमार नेपाल प्रधानमन्त्री थिएनन्।

तसर्थ, उनको यो दाबी पनि गलत छ ।

तेस्रोः देशको सबैभन्दा गरिब जिल्ला पहाडमा छ। दोस्रो पनि पहाडमा छ। चौथोमा पर्छ (मधेसको) रौतहट जिल्ला। अनि महोत्तरी जिल्ला। तपाईं मानव विकास सूचकांक हेर्नुस् न!

राष्ट्रिय योजना आयोग र युएनडिपीले तयार पारेको ‘नेपाल ह्युमन डिभलपमेन्ट रिपोर्ट, २०१४‘का अनुसार मानव विकास सबैभन्दा कम भएका नेपालका १० वटा जिल्लामध्ये आठ वटा जिल्ला पहाडी तथा हिमाली भेगमा छन् भने बाँकी दुई वटा जिल्ला तराईमा छन्। तराईका ती दुई जिल्ला रौतहट र महोत्तरी हुन्। मानव विकास सबैभन्दा कम भएका जिल्लामध्ये यी दुई जिल्ला क्रमशः छैठौं र सातांै स्थानमा पर्छन्।

तसर्थ, उनको यो दाबी पनि गलत छ।

सुजित मैनाली / बिहीबार, भाद्र २९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री