कोशी टप्पु आउने विदेशीको संख्याबारे उपेन्द्र यादव गलत

South Asia Check / सोमबार, मंसिर २३, २०७६

स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले हालसालै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भने–

‘कोशी टप्पुमा विभिन्न ठाउँबाट चराहरू वर्षेनी आउँछन् । ती चरा हेर्न करिब एक/डेढ लाख पर्यटक बाहिरबाट आउँछन् ।’ 

साउथ एशिया चेकले यादवको भनाई सही छ/छैन भनि जाँचेको छ ।

विदेशबाट आउने पर्यटकबारे बोल्ने क्रममा यादवले यस्तो बताएका हुन् । तसर्थ बाहिरबाट आउने पर्यटक भनेर उनले विदेशी पर्यटकतर्फ संकेत गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ११ हजार २५२ जना विदेशी पर्यटक कोशी टप्पु पुगेका थिए । त्यसको चार वर्षअघि कोशी टप्पु भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ४ हजार ४४६ थियो (नेपाल टुरिजम स्टाटिस्टिक्स २०१७संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसन् २०१८पृ५६) ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जम्मा ६ लाख ४ हजार ९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । तीमध्ये सबैभन्दा बढी (२,०५,७४७ जना) शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज गएका थिए । बाँके राष्ट्रिय निकुञ्ज र अपिनप्पा संरक्षण क्षेत्रमा चाहिँ सबैभन्दा कम (अर्थात क्रमशः ४ जना र १९ जना) गएका थिए । सो वर्ष विदेशी पर्यटक बढी आकर्षित गर्ने राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमध्येमा कोशी टप्पु सातौँ स्थानमा थियो (नेपाल टुरिजम स्टाटिस्टिक्स २०१७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सन् २०१८, पृ. ५४) ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा १२ वटा राष्ट्रिय निकुन्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष र छ वटा संरक्षण क्षेत्र छन् ।

सुजित मैनाली / सोमबार, आषाढ १८, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री