कोलकाता जाने पानी जहाज उहीँ छ

South Asia Check / मंगलबार, मंसिर २४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल असार १४ गते मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेका एउटा कार्यक्रममा भनेका थिए, “सन्२०१८ को पौष १५ सम्ममा नभए पौष १६ मा पानी जहाज स्टिमर चढेर कलकत्ता निम्ता छ साथीहरूलाई।”

प्रधानमन्त्री ओलीको यो निम्ता कति पत्याउने, कति नपत्याउने भनी साउथ एशिया चेकले खोजेको छ ।

२०७५ असार ३१ र ३२ गते नेपाल–भारत बीच जल यातायात सम्बन्धी बैठक भएको थियो। भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आएको टोलीसँग जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेले नेतृत्व गरेको टोलीले जल यातायातका विभिन्न आयाम र संभावना सम्बन्धमा पहिलो छलफल गरेको थिए । उक्त वार्तामा नेपाली प्राविधिक टोली र भारतीय प्राविधिक टोलीले स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

सहमति अनुसार, भारतको एनडब्लु –१ गंगा वाराणसी मल्टीमोडल टर्मिनल र कोलकाता/हल्दिया टर्मिनल जलमार्गको प्राविधिक पक्षको अध्ययनका लागि २०७५ साल असोज १ गते देखि ५ गते त्यहाँ गएको थियो ।

भारतीय प्राविधिक टोली सन् २०१९ को जनवरीमा नेपालको कोशी र नारायणी नदीको स्थलगत अध्ययनका लागि आउन लागेको छ ।

सहसचिव माधव बेल्बासे भन्छन् , “नेपाल–भारत जल यातायात परियोजना प्रारम्भिक  चरणमा रहेको छ। अहिले विस्तृत परियोजना प्रतिवेदन तयार हुँदैछ । यससम्बन्धी प्रगति भारतको सक्रियता र समन्वयमा भर पर्ने हुनाले यो परियोजना कहिले सम्ममा पूरा हुन्छ भनी भन्न सकिन्न। ”

कोलकाता जाने पानी जहाज उहीँ भएकाले प्रधानमन्त्रीको यो निम्ता पत्याउन लायक रहेन ।

इन्जिना पन्थी / बुधबार, पौष ४, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री