काम गर्‍यो अर्कैले, जस लिए प्रधानमन्त्रीले

South Asia Check / शुक्रबार, फाल्गुण ३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १६ गते धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा आयोजना गरेको गौतम बुद्ध  अन्तर्राष्ट्रिय रङ्गशाला घोषणा तथा सहमतिपत्रमा हस्ताक्षर समारोहमा भनेका थिए, “यस वर्ष जाडोले कठ्याग्रिंएर कोही पनि नेपाली मर्न दिईदैन, मर्न पाउनेछैन । अब शीतलहरको समय पनि सिद्धियो । एक जना पनि मर्न पाएन किनभने समयमै कम्मल त्यहाँ ठीक ठाउँमा पुर्‍याएर राखिएको छ, आवश्यक पर्नेलाई दिईएको छ । दाउरा पुयार्‍ईएको छ, कम्मल पुर्‍याईएको छ, सबै चिज तयार गरिएको छ पहिले नै ।”

साउथ एसिया चेकले प्रधानमन्त्रीको दाबी कति सत्य छ भनी जाँच गरेको छ । यसका लागि साउथ एशिया चेकले मानिस नमर्नुका कारण सरकारले कम्बल पुर्‍याउनु हो कि शीतलहर नै नआउनु हो भनी हेरेको छ । हामीले नेपालको तराईमा यस हिउँदमा शीतलहर आयो कि आएन भनी हेरेका छौँ ।

शीतलहर आउँदा न्यूनतम तापक्रम बढी र अधिकतम तापक्रम कम भइ यी दुई तापक्रमका बीचको अन्तर घटेको हुन्छ । त्यसैले यस वर्ष शीतलहर लाग्यो कि लागेन भनी हेर्नका लागि हामीले शीतलहर लाग्ने तराईका मुख्य ठाउँका शीतलहर लागेको वर्ष सन् २००३/०४ को डिसेम्बर २४ देखि फेब्रुअरी १५ सम्मको तापक्रमसँग यस वर्षको सोही समयको तापक्रम तुलना गरेका छौँ ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार २००३/०४ को डिसेम्बर २४ देखि फेब्रुअरी १५ सम्मको दैनिक न्यूनतम तापक्रम भन्दा २०१८/१९ को सोही समयको दैनिक न्यूनतम तापक्रम कम छ । सोही अवधिको २०१८/१९ को अधिकतम तापक्रम २००३/०४ का तुलनामा बढी छ । यस वर्ष अर्थात् सन् २०१८/१९ को शीतलहर चल्ने समयमा न्युनतम र अधिकतम तापक्रम बिच ठूलो अन्तर छ । यसको अर्थ हो यसपटक शीतलहर चलेन ।

विभागकै अर्को जानकारीले पनि यस वर्ष शीतलहर नचलेको देखाएको छ । २००३/०४ मा सो विभागले हिउँदमा तराईमा १९ दिन शीतलहर पर्ने अनुमान गरेको थियो । यस पटक शीतलहर पर्न सक्ने भनी एक दिन पनि अनुमान गरेको थिएन ।

त्यसकारण, प्रधानमन्त्रीले सरकारले समयमै कम्मल र दाउरा पुर्‍याएकाले शीतलहरबाट कसैको ज्यान गएन भनेको कुरा सही छैन । यसपालि शीतलहरले मानिसको ज्यान नजानुको सही कारण होः शीतलहर नै नलाग्नु ।

तराईका पाँच ठाउँका न्यूनतम र अधिकतम तापक्रम तलका रेखाचित्रमा देखाइएका छन् ।

साउथ एशिया चेक / शुक्रबार, फाल्गुण ३, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री