सुजाता कोइरालाको कालापानी बारेको भाइरल भिडियो भ्रामक

Sanjog Shiwakoti / मंगलबार, जेठ ६, २०७७

२०७७ वैशाख २६ गते भारतले लिपुलेकमा चीनसितको नाका जोड्ने सडकको उद्घाटन गरेको समाचार नेपाली सञ्चार माध्यममा प्रकाशित भएपछि सामाजिक सञ्जालमा उक्त घटनालाई लिएर टीकाटिप्पणी र विरोध भइरहको छ । राष्ट्रिय अखण्डतासम्बन्धी संवेदनशील सवालमा सर्वसाधारण र सार्वजनिक व्यक्तिले आफ्ना विचार खासगरी सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । तर यस्तो बेला भ्रामक र गलत सूचनाहरु पनि प्रवाह हुने गरेको छ । अपूरो तथ्यका साथ हालैको जस्तो गरी भाइरल बनाइएको एउटा पुरानो विराेध प्रदर्शनको भिडियोमाथि हामीले हालैमात्र तथ्य जाँच गरेका थियौं ।

सामाजिक सञ्जाल फेसबुकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको भिडियो वैशाख ३१ गतेदेखि व्यापक रुपमा फैलिएको छ । “कालापानी को भु-भाग भारतको हो, भारतलाई दिनु पर्छ भन्छ त सुजाता कोइराला” भन्ने स्टाटस सहित उक्त भिडियो हजारौं पटक शेयर गरिएको छ । विभिन्न पेज र व्यक्तिहरुले उक्त भिडियो शेयर गरेका छन् । सुजाता कोइरालाका भनाइ भएका  दुईवटा भिडियो यस्तै दावीका साथ शेयर भइरहेका छन् । एउटा भिडियो १६ सेकेन्डको छ भने अर्को भिडियो ५२ सेकेन्डको छ ।

सन्तोष कङ्लिबा लिम्बुको फेसबुकमा वैशाख ३१ गते पोष्ट गरिएको १६ सेकेन्ड लामाे भिडियो २६०० पटक शेयर गरिएको छ भने १२२००० पटक हेरिएको छ ।  यसैगरी ‘गित भट नानु’ नामक फेसबुक पेजले उक्त भिडियो पटक पटक गरी २ घण्टा लाइभ गरेको थियो । साे भिडियो ६७००० पटक हेरिएको छ भने ४५६ पटक शेयर गरिएको छ । सन्तोष लिम्बु नामकै अर्काे फेसबुक पेजमा साे भिडियाे ७२००० पटक हेरिएको छ भने ७३१ पटक शेयर भएको छ । जेठ ५ गते ‘नेपाल न्युज २४x७ अप्डेटेड’ नामक फेसबुक पेजमा पोष्ट गरिएको उक्त भिडियो ३६ पटक शेयर भइसकेको छ । यस सँगसँगै ५२ सेकेन्डको भिडियो पनि कैयौं पटक शेयर गरिएको छ ।

सोही भिडियोका अरु क्लिपहरु टिकटक नामक भिडियो शेयर गर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि शेयर गरेका छन् ।

दुवै भिडियो ‘कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ’ भन्ने सुजाता कोइरालाको भनाइबाट शुरु गरिएको छ । दुवै भिडियोको माथिल्लो भागमा सेतोपाटीको लोगो देखिन्छ ।

तथ्य जाँच:

सुजाता कोइरालाले गत वैशाख २९ गते स‌ंघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै यही शीर्षक राखी विभिन्न वेबसाइटमा भाइरल बनाइएको समाचारको खण्डन गरेकी थिइन् । पत्रकार ॠषि धमलाले सञ्चालन गरेको  रिपोर्टर्स नेपाल अनलाइनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्छ : सुजाता’ शीर्षकमा २०७६ साल पुष २० गते प्रकाशित समाचारलाई ‘कालापानीको भुभाग भारतको हो, भारतलाई दिनु पर्छ: सुजाता कोइराला’ शीर्षक राखी केही अनलाइनले गलत समाचार छापेको भन्दै उनले उक्त बैठकमा खण्डन गरेकी थिइन् । उक्त बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले बोलेको ५ मिनेट ४४ सेकेन्डको भिडियो सेतोपाटीले वैशाख २९ गते प्रकाशित गरेको थियो ।

सेतोपाटीमा प्रकाशित ‘भारतसँगको सीमा वार्ताको नेतृत्व मलाई दिनुहोस्: सुजाता कोइराला’ शीर्षक उक्त भिडियो यो भनाइबाट सुरु भएको छ, “अहिले भर्खर मैले एउटा न्युज पढेँ । मेरै बारेमा है । अहिले भर्खर यहाँ आयो । यो छ महिना पहिले आएको थियो । अहिले फेरि यो शुरु हुन थालेको छ । त्यसको हेडलाइन के छ भनेदेखि कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ । यस्तो कुरा मैले कहिल्यै पनि … मैले गर्न सक्छु ? यस्तो कुरा आफ्नो देशको लागि, आफ्नो राष्ट्रको लागि, राष्ट्रको हितमा मैले जहिले पनि ‘स्ट्यान्ड’ लिएको कारणले म पछि परेको छु राजनीतिमा । कुरा बुझ्नुपर्‍यो नि सबैले ।” उक्त बैठकमा उनले त्यसबेला आफुले नेपालकाे बाटाे बनाउने क्षमता नभएकाले ५-१० वर्षका लागि लिजमा दिऊँ भनेकाे बेचिदिऊँ नभनेकाे बताएकी छन् ।

दुवै भिडियोमा बीचको भनाइमात्र राखी पूरा भनाइ नराखी काँटछाँट गरिएको छ । यसबाट कोइरालाको अभिव्यक्तिलाई गलत अर्थ लाग्ने गरी भिडियो बनाई पोष्ट गरिएको प्रष्ट हुन्छ ।

सेतोपाटीमा प्रकाशित भिडियोको शुरुको १० सेकेन्ड काटेर “कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ” भन्ने भनाइबाट भिडियो शुरु गरिएको छ । त्यसैगरी बाँकी अंशमा पनि दुवै भिडियोमा धेरै भाग काँटछाँट गरी जोडेर उनले त्यस्तै बाेलेको भन्ने देखिने गरी काटिएकाे छ ।

त्यसैले सेतोपाटीको भिडियोलाई केही काँटछाँट गरी जोडेर बेग्लै अर्थ आउने गरी सुजाता कोइरालाले नै बोलेको भनी तोडमराेड गरी भिडियोलाई भाइरल बनाइएको हाम्रो ठहर छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री