नेपालको जलविद्युत क्षमताबारे नेता खनालको भनाइ गलत

Sanjog Shiwakoti / आइतबार, जेठ २५, २०७७

तस्बिर स्रोत: इमेज च्यानलको युट्युब भिडियोको स्क्रिनसट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०७७ साल जेठ २२ गते इमेज च्यानल टेलिभिजनबाट प्रशारण हुने ‘हट सिट’ कार्यक्रमका प्रस्तोता जगदिश खरेललाई अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा हाल विवादास्पद बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) ले उनको दलभित्र ल्याएको अन्तरविरोधका बारेमा छलफल भएको थियो । उनको पार्टीले एमसिसि बारेमा अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजक समेत रहेका खनालले नेपालको जलस्रोतका बारेमा कार्यक्रममा टिप्पणी गरेका थिए ।

उनले भनेका थिए:

“हाम्रो देशमा भएको साधन स्रोतहरुमध्ये जलस्रोत सबभन्दा महत्वपूर्ण स्रोत हो । त्यो स्रोतबाट हामीले बिजुली निकाल्न सकिने व्यापक सम्भावनाहरु छन् । वान हन्ड्रेड थाउजण्ड (एक लाख) मेगावाट निकाल्न सकिने सम्भावनाहरु छन् भनेर विज्ञहरु भनिरहेका छन् ।”

साउथ एसिया चेकले खनालको दाबी कति सत्य छ भनी जाँच गरेको छ ।

नेपालको जलस्रोत र जलविद्युतको विषयमा विध्यालय तहदेखि के पढाइँदै आएको छ भने नेपालले आफ्ना खोलानालाबाट ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्छ । तर केही वर्षयता हालसम्म मानिँदै आएको नेपालको जलविद्युत सम्भाव्यताबारे अनुसन्धाताहरुले नयाँ तथ्यहरू सार्वजनिक गरेका छन् । २०६७ साल कार्तिक २६ गते ‘द काठमाण्डु पोष्ट’ मा प्रकाशित लेखमा अनुसन्धानकर्ता सरोज ढकाल र ओलिभिया गिप्नरले यसबारे परस्पर विरोधी तथ्यांक प्रकाशित हुने गरेकोले यसको निर्क्योल गर्न एउटा अध्ययन हुनुपर्ने सुझाएका थिए ।

नेपालको जल तथा ऊर्जा सम्बन्धी योजना बनाउन नेपाल सरकारलाई सहयोग गर्ने आधिकारिक निकाय जल तथा ऊर्जा आयोग सचिवालयले यस बारेमा विभिन्न अनुसन्धान प्रतिवेदन प्रकाशित गर्ने गर्छ ।  जल तथा ऊर्जा आयोग सचिवालयले सन् २०१७ को जनवरीमा प्रकाशित गरेको विद्युत माग पूर्वानुमान प्रतिवेदन (२०१५ – २०४०) ले जलविद्युत क्षमतालाई तीन भागमा वर्गीकरण गरी तथ्याङ्क निकालेको छ । उक्त प्रतिवेदन अनुसार नेपालकाे जलविद्युत उत्पादन क्षमता सैद्धान्तिक रुपमा ८३००० मेगावाट, प्राविधिक रुपमा ४५६१० मेगावाट र आर्थिक रुपमा ४२१३३ मेगावाट हो ।

विद्युत माग पूर्वानुमान प्रतिवेदन (२०१५ – २०४०) को स्क्रिनसट

रातोपाटी अनलाइनमा माघ २९, २०७४ गते प्रकाशित समाचारअनुसार जल तथा उर्जा आयोग सचिवालयले नेपालकाे जलविद्युत उत्पादन क्षमता अध्ययन गर्न दिएको परामर्शदाता कम्पनी सिल्ट एण्ड सिम्याटको अध्ययनले नेपालको जलविद्युत उत्पादन क्षमता ८२९८० मेगावाट बराबर रहेको देखाएको थियो । तर उक्त प्रतिवेदन आयोगले हालसम्म आफ्नो वेबसाइटमा राखेको छैन र त्यसबारे कतै जिकिर पनि गरेको छैन ।

यसैगरी विश्व बैंक समूह अन्तर्गतको इन्टरनेश्नल फाइनान्स कर्पोरेसनका अनुसार नेपालको जलविद्युत् क्षमता ५०००० मेगावाट भन्दा बढी छ ।

त्यस्तै अमेरिकी सहयोग नियोग युएस एडले २०७४ साल चैत १२ गते अद्यावधिक गरेको सामग्री अनुसार नेपालसँग आर्थिक क्षमताका हिसाबले ४०००० मेगावाट भन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने अनुमान गरिएको छ ।

नेपाल सरकारको आधिकारिक प्रतिवेदन एवम् अन्तरराष्ट्रिय विज्ञ संस्थाहरुको तथ्याङ्क हेर्दा नेपालले ब्याबहारिक हिसाबले लगभग ४०००० देखि ५०००० मेगावाट जलविद्युत उत्पादन गर्नसक्ने क्षमता राख्दछ । खनालले  आफुले उद्धृत गरेको दाबी गर्ने विज्ञ को हो भन्ने प्रष्ट नपार्नु र नेपाल सरकारको आधिकारिक निकाय र अन्तरराष्ट्रिय विज्ञ संस्थाहरुको प्रतिवेदनका आधारमा हेर्दा नेपालले एक लाख मेगावाट जलविद्युत उत्पादन गर्नसक्छ भन्नु गलत ठहर्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री