यो फोटो काबुलबाट उद्धार गरिएका भारतीयको हैन

Sanjog Shiwakoti / मंगलबार, भाद्र १, २०७८

फेसबुकबाट लिइएको स्क्रिनसट

अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूह तालिबानले हालैमात्र देशका विभिन्न भागको साथै राजधानी काबुल कब्जा गरेको छ । राष्ट्रपति अशरफ गनी देश छोडेर हिँडेका छन् भने कैयौं विदेशी कुटनीतिक निकायका कर्मचारी, विदेशी संस्थाका पदाधिकारी, अफगानी नागरिक लगायत देश छोड्ने क्रम जारी छ । अफगानिस्तानको पछिल्लो राजनीतिक संकटसित जोडेर एक तस्बिर व्यापक शेयर भइरहेको छ ।

फेसबुक लगायतका सामाजिक सञ्जालमा काबुलबाट उद्धार गरिएका भारतीयकाे भन्ने दाबी गरिएकाे उक्त तस्बिर हालको नभई सन् २०१३ मा समुद्री आँधी प्रभावित फिलिपिन्समा अमेरिकी वायु सेनाले गरेको उद्धारको रहेको फेला परेको छ ।

फेसबुकमा दुई लाख बढी फलोअर्स भएका खानेपानी मन्त्रालयका पूर्व सचिव भिम उपाध्यायले “आज भारतले काबुलबाट ८००+ भारतीय नागरिक यसरी देश फर्काएको छ” भन्ने दाबी सहित साउन ३२ गते उक्त सामग्री पोष्ट गरेका थिए । त्यसमा ३५०० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ७५ पटक सेयर भएको छ । ९२ हजार बढीले फलो गरेको फेसबुक पेज ‘Rabi Lamichhane Fan Club’ ले सोही दाबीका साथ पोष्ट गरेको उक्त तस्बिरमा १६९ वटा प्रतिक्रिया आएको छ भने ७ पटक शेयर भएको छ । यसैगरी ३९ हजार बढीले फलो गरेको ‘E-learning for Students’ नामक फेसबुक पेजले पनि सोही दाबीका साथ सेयर गरेको तस्बिरमा २५० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ४ पटक सेयर भएको छ ।

फेसबुकबाट लिइएको स्क्रिनसट

सोही दाबीका साथ उक्त तस्बिर @sujankdk नामक ट्वीटर ह्यान्डलबाट पनि ट्वीट गरिएको छ । यसैगरी केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उपाध्यायको पोष्टको स्क्रिनसट लिएर सेयर गरेका छन् । केही प्रयोगकर्ताहरुले उक्त दाबीलाई विश्वास गरेका छन् भने केहीले त्यसमाथि प्रश्न उठाएका छन् ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त तस्बिरको ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्ने क्रममा अमेरिकाकी वायुसेनाको आधिकारिक वेबसाइटमा फेला पर्यो । उक्त तस्बिर अमेरिकी वायुसेनाका सर्जेन्ट रामोन ब्रोकिङ्टनले सन् २०१३ को समुद्री आँधीका कारण बिस्थापित भएका फिलिपिन्सको ताक्लोबान सहरमा बस्ने ६७० फिलिपिनोलाई उद्धार गरी राजधानी मनिला लगिएको बखत खिचेका थिए । सन् २०१३ मा आएको भिषण आँधीका कारण १ करोड ४० लाख मानिस प्रभावित भएका थिए भने ६००० भन्दा धेरैको ज्यान गएको थियो ।

सन् २०१३ मा समुद्री आँधीको बेला फिलिपिन्समा गरिएको उद्धारको तस्बिरलाई हालको अफगानिस्तानको घटनासँग जोडेर भारतीय नागरिकको उद्धारको तस्बिर भनी गरिएको दाबी गलत ठहर्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री