कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य
South Asia Check / शुक्रबार, बैशाख २४, २०७८
नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त संक्रमितका आफन्तले यस महामारी विरुद्धका विभिन्नखाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् । यसै सन्दर्भमा हामीले कोभिड-१९ संक्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमुलक सामग्री तयार पारेका छौँ ।
के रेम्डेसिभिर प्रभावकारी हुनसक्छ ?
रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो । अमेरिकाको नेसनल इन्स्टीच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले हेपाटाइटिस सि र अर्को एक खोकीको भाइरस विरुद्ध बनाइएको हो । तर यी दुवै भाइरस विरुद्ध यो प्रभावकारी देखिएन । अन्य भाइरस विरुद्ध भने यो प्रभावकारी हुनसक्ने देखियो ।
गत वर्ष गरिएको एक अध्ययनमा यो औषधि दिइएका सिकिस्त भई अस्पताल भर्ना भएका कोभिड संक्रमित बिरामी छिटो निको भएको पाइएको थियो । अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसलाई त्यतिखेर प्रयोग गर्ने अनुमति दिएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको छैन । सन् २०२० को नोभेम्बरमा एक वक्तव्यमार्फत उसले रेम्डेसिभिर प्रयोग गर्न एक शर्तात्मक सिफारिस (कन्डिसनल रिकमेन्डेसन) गरेको थियो । उक्त औषधिले कोभिड-१९ संक्रमितको बाँच्ने सम्भावनामा कुनै सुधार ल्याउँछ भन्ने कुनै प्रमाण नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
एपीवान टेलिभिजन कार्यक्रमसँगको हालैको एक अन्तर्वार्तामा संक्रमण रोग विशेषज्ञ प्रभात अधिकारीले यसबारे अझै छिनोफानो भइनसकेको बताए । “डब्लुएचओले काम गर्दैन भन्छ । युएसको स्टडिले यसले अस्पताल बसाइलाई छोट्याउँछ भन्छ,” उनले भने, “नेपालमा पनि अध्ययन भएको छ । त्यसको डाटा अनुसार यसलाई चाँडै बिरामी सिकिस्त नहुँदै प्रयोग गरियो भने काम गर्छ ।” उनले थपे, “यसमा डाक्टरहरुको आ- आफ्नो ओपिनियन छ । यो भाइरल रिप्लिकेसन फेज (अर्थात् संक्रमण हुनेबित्तिकै) मा बढी महत्वपूर्ण हुन्छ । प्रयोग गर्नै छ भने चाँडोभन्दा चाँडो गर्दा फाइदा होला । तर प्रमाणित हुन बाँकी छ ।”
औषधि व्यवस्था विभागले रेम्डेसिभिरको ३००० भायल बंगलादेशबाट आयात गरिएको बताएको छ ।
के हो कन्भासालेन्ट प्लाज्मा थेरापी ? कसरी गरिन्छ उपचार ?
यस उपचार विधिमा कोभिडबाट संक्रमित भई निको भइसकेका व्यक्तिको रगत संक्रमितलाई दिइन्छ । यसमा निको भएका व्यक्तिको रगत निकालिन्छ र त्यसको तरल भाग छुट्याइन्छ । रगतको प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडि केही समय रहिरहने भएकाले यसको प्रयोग उपचारका रुपमा गरिएको हो । संक्रमितलाई सलाइन दिएजस्तै गरी उक्त प्लाज्मा दिइन्छ । खोपबाट शरीरको प्रतिरोध क्षमता बढाउनुलाई ‘एक्टिभ इम्युनिटी’ र प्लाज्माको प्रयोगबाट त्यसो गर्नुलाई ‘प्यासिभ इम्युनिटी’ भनिन्छ ।
तर रेम्डेसिभिरको हकमा जस्तै प्लाज्मा थेरापीको प्रभावकारिता बारेमा पनि चिकित्सकबीच मतैक्य छैन । “यसले अरु भाइरल रोगमा केही काम गरेको भएर कोभिडमा पनि काम गरिहाल्छ कि भनेर अध्ययनका लागि र एक्सपेरिमेन्टल हिसाबले प्रयोग गरिएको हो,” संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले सेतोपाटीलाई बताएका छन्, “विश्वव्यापी रुपमा धेरै ठूलठूला ट्रायलबाट आंकडा आइसक्यो, प्लाज्माको काम छैन ।” उनका अनुसार अर्जेन्टिनामा गरिएको एक अध्ययनमा ज्येष्ठ नागरिकलाई संक्रमण भएको तीन दिनभित्र प्लाज्मा दिँदा उनीहरु सिकिस्त हुने सम्भावना कम भएको देखिएको थियो । “तर त्यो सानो अध्ययन हो । त्यसपछिका अन्य अध्ययनमा त्यसको पुनर्पुष्टि भएको छैन,” उनले भने । डाक्टर सुवेदीले अहिले कसैलाई पनि प्लाज्मा दिन सिफारिस नगर्ने बताए । डाक्टर अधिकारीले यसलाई आफुले ‘कन्ट्रोभर्सियल ट्रिटमेन्ट’ रुपमा लिएको र शुरुको चरणमा प्रयोग गरेमा प्रभावकारी हुनसक्ने बताए ।
अमेरिकाको मेयो क्लिनिकले पनि यसको प्रयोगले रोगलाई केही मत्थर पार्न वा बिरामी हुने अवधि छोट्याउने जनाएको छ । सोही संस्थामा कार्यरत नेपाली चिकित्सक सुदीप खड्काले थप अध्ययन नगरी प्लाज्मा उपचारले काम गर्छ भन्ने ग्यारेन्टी नभएको बताएका छन् । “पूर्ण रुपमा किफायतीपन निर्धारण नगरिएको प्लाज्मा प्रयोग गर्दा त्यो प्लाज्माले भाइरस ठ्याक्कै पूर्ण रुपमा निस्तेज पार्ने सम्भावना न्युन हुन्छ । अझ प्लाज्मा त बिरामी गम्भीर हुन लागेको बेलामा (जतिबेला शरीरमा भाइरसको संख्या अत्यधिक हुन्छ त्यतिबेला) खोज्ने गरिएको छ । यस्तो अवस्थामा प्लाज्माको प्रयोगले भाइरसका ती भेरियन्टलाई फैलिन मद्दत गर्छ, जसले यो प्लाज्मामा रहेको एन्टिबडिबाट उम्कन सक्छन्,” खड्काले अनलाइनखबरमा प्रकाशित लेखमा भनेका छन् ।
प्लाज्मा थेरापीबारे थप जानकारीका लागि माइसन्सारमा प्रकाशित यो जानकारीमुलक लेख पढ्नुहोस् ।
के हो प्रोन पोजिसनिङ ? यसबाट के फाइदा हुन्छ ?
‘प्रोन’ को शाब्दिक अर्थ घोप्टो परेर सुत्नु हो । शरीरमा अक्सिजनको मात्रा बढाउन बिरामीलाई सिरानीको सहयोगले घोप्टो पारेर सुताउने विधिलाई ‘प्रोन पोजिसनिङ’ भनिन्छ । स्वासप्रस्वासको बिरामीलाई सास फेर्न कठिन भएको अवस्थामा फोक्सोको क्षमता बढाउन प्रोन पोजिसनिङको प्रयोग गरिन्छ ।
प्रोन पोजिसनिङमा चार वा पाँच वटा सिरानीको प्रयोग गरिन्छ । तीमध्ये दुईवटा सिरानी कम्मरमा, एउटा सिरानी गर्दनमा र एउटा सिरानी खुट्टाको गोलीगाँठानेर राखेर पेटको बलमा बिरामीलाई सुताइन्छ । मानिसको मोटाइको आधारमा केही सिरानी थप-घट गरिन्छ । चिकित्सकहरुले मेकानिकल भेन्टिलेटरमा राखेका बिरामीका लागि पनि प्रोन पोजिसनको प्रयोग गर्दछन् । यसलाई स्वासप्रस्वासमा सामान्य समस्या आउँदा प्राकृतिक भेन्टिलेटरको रुपमा प्रयोग गर्न सकिन्छ । नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनले नयाँ पत्रिकामा प्रकाशित लेखमा लेख्छन्, “अक्सिजनको लेभलमा सामान्य कमी आएमा वा अन्य समस्या नभएमा केहीबेरका लागि घोप्टो परेर बस्न सकिन्छ ।”
प्रोन पोजिसनिङले फोक्सोको कोशिका खाेल्न मद्दत गर्दछ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसले बिरामीको वायु प्रवाह सहज पार्न मद्दत गर्दछ । प्रोन पोजिसनिङ एक्युट रेस्परेटरी डिस्ट्रेस सिन्ड्रोम (फोक्सोमा तरल पदार्थ जमेर सास फेर्न सकस हुने) भएका बिरामीहरुलाई प्रयोग गरिन्छ । यूएस नेसनल लाइब्रेरी अफ मेडीसीन नेसनल इन्स्टिच्यूट अफ हेल्थमा प्रकाशित एक अनुसन्धान अनुसार मेकानिकल भेन्टिलेटरमा राखिएका स्वासप्रस्वास समस्या भएका त्यस्ता बिरामीलाई प्रोन पोजिसनिङले अक्सिजनको मात्रा बढाउन सहयोग गरी मृत्युदरमा सुधार ल्याएको थियो । कोभिड-१९ का कारण स्वास्प्रस्वासमा समस्या हुनाले यसका बिरामीलाई पनि यो उपयोगी हुने अमेरिकन जर्नल अफ रेस्पिरेटरि एण्ड क्रिटिकल केयर मेडिसिनमा प्रकाशित एक अध्ययनमा जनाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमा होम आइसोलेसनमा बसेका कोभिड-१९ का बिरामीलाई प्रोन पोजिसनिङले मद्दत गर्ने भन्दै यो विधि प्रकाशित गरेको छ ।
केही अनुसन्धानहरुले प्रोन पोजिसनिङ उपयोगी हुने उल्लेख गरेका छन् । कतिपय चिकित्सकहरुले यसको प्रयोग पनि गरेका छन् भने अन्य चिकित्सकहरुले यसले स्वासप्रस्वासमा कुनै सहयोग नगर्ने जनाएका छन् । यूएस नेसनल लाइब्रेरी अफ मेडीसीन नेसनल इन्स्टिच्यूट अफ हेल्थले प्रकाशित गरेकाे एक लेखमा स्वास्थ्यकर्मीहरु नै यसको उपयोगिताबारेमा एकमत नभएको उल्लेख छ ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत