महिला कैदी/वन्दीका कुरा

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

ग्राफिकः बिक्रम राई

आफ्नो बच्चा मारेको अपराधमा जेल परेकी पाल्पाकी एक महिला अहिले काठमाडौं  सुन्धारास्थित केन्द्रीय कारागारमा जेल सजाय काट्दैछिन। उनको मानसिक सन्तुलन ठीक छैन् ।

“पानी किन खेलाइस् भनेर पिटेको रे ! ज्यान नै त के लिन्थ्यो आमाले । उस्को जेल जाने भाग्य,” सोही करागारकी एक कैदीले भनिन् ।

“मेरो नि अब तीन बर्ष मात्र बाँकी छ । अनि त घर !,” ती कैदीले भनिन् ।

उनी लागूपदार्थको कारोबार गरेको अपराधमा जेल परेकी हुन् । उनी भन्छिन्- साथीलाई सहयोग गर्दा फसेँ ।

उनी “१९ वर्षकी हुँदा जेल परेकी थिइन् । अहिले ३२ वर्षकी भइन् ।

केन्द्रीय करागारमा हाल ३२० जना महिला कैदीवन्दी छन् । लागूपदार्थको कारोबार गरेको भनी  समातिएकाहरू आफू फसेको, आफूले जानाजान त्यस्तो पदार्थको कारोबार नगरेको दाबी गर्छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार, नेपालभर अहिले १३१३ जना महिला कैदीवन्दी छन्।

गत पाँच वर्षको तथ्याङ्कले के देखाउँछ भने नेपालमा कैदीवन्दीको संख्या वार्षिक सरदर ७% ले वढीरहेको छ। महिला कैदीवन्दीको संख्या कूल कैदीवन्दीको भन्दा अलिकति कम अर्थात् वार्षिक ५% ले वढीरहेको छ। २०६९/७० मा नेपालका जेलमा ११२५ जना महिला कैदी थिए भने आर्थिक वर्ष २०७३/७४ मा १३१३ जना थिए ।

महिला कैदीवन्दी नेपालका ७४ कारागारमध्ये ५३ वटा कारागारमा राखिएका छन् । काठमाडौँमा रहेका महिला कैदीबन्दीमध्ये धेरै लागूपदार्थ कारोबार गरेको/खाएको अभियोगमा सामातिएका छन् । यसबाहेक ज्यान मार्ने, जिउ मास्ने-बेच्ने, ठगी, चोरी जस्ता अपराधमा पनि धेरै महिला जेल परेका छन् ।

नेपालमा पुरुष कैदीका तुलनामा महिला कैदी थोरै अर्थात् कूल कैदीमध्ये ७ प्रतिशतभन्दा कम छन् । तर महिला जेल पर्दा पुरुष जेल पर्दाभन्दा बढी मात्रामा घरपरिवारको बिचल्ली हुन्छ । सामान्यता बिबाहित पुरुष जेल पर्दा उनका श्रीमतीले घर सम्हालेका हुन्छन् । पुरुष जेलबाट छुटेपछि घर फर्कने ठाउँ हुन्छ । तर बिबाहित महिला जेल पर्दा उनका श्रीमानले अर्को बिहे गर्छन् । महिला त्यस घरमा जान पाउँदिनन् ।

यस्तै गरी बिबाहित पुरुष जेल पर्दा उनका बालबच्चा प्रायः श्रीमतीले सम्हालेका हुन्छन् । तर महिला जेल पर्दा बालबच्चा पनि जेलमै बस्नुपर्ने हुन्छ । आर्थिक वर्ष ‍२०७३/७४ (वैशाख सम्म) मा ९७ बालबच्चा उनीहरूका आमासँग जेलमा थिए ।

जेलमा पाँच वर्षसम्मका बालबच्चा मात्र राख्ने ब्यवस्था छ । बालबच्चा पाँच वर्षका भइसकेपछि पनि आमा जेलमै छिन भने उनका बालबच्चा आफन्त भए आफन्तले पाल्छन् । आफन्त नभए उनीहरूको बिजोग हुन्छ ।

प्रतिभा रावल / शुक्रबार, आषाढ २, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री