तरकारी र फलफूलमा विषादी परीक्षणः समस्यै समस्या
South Asia Check / सोमबार, मंसिर २३, २०७६
सरकारले २०७४ साउनदेखि २०७५ वैशाखसम्म देशका विभिन्न भागमा ३,६७७ वटा तरकारी तथा फलफूल विषादी परीक्षण गर्दा ३३ वटा खान लायक नभएको पाइएका थिए । यस्तैगरी, ९३ वटा तरकारी तथा फलफूल केही दिन पर्खेर, जाँच गरेपछि मात्र खान मिल्ने वा नमिल्ने थाहा हुने खालका थिए ।
यस अवधिमा गरिएको परीक्षण अनुसार पोखरा परीक्षण केन्द्रले गरेको जाँचमा सबैभन्दा बढी मात्रामा तरकारी र फलफूल खान अयोग्य पाइएका थिए । त्यस केन्द्रले ५०७ वटा नमुना जाँच गर्दा १९ वटा खान नहुने पाइएका थिए । २३ वटा नमुना खान हुने वा नहुने भनी भन्न सकिने अवस्थामा थिएनन् । केही दिन पर्खेर फेरि जाँच गरेर मात्र ती नमूना खान हुने हुन् या होइनन भनी भन्न सकिन्थ्यो ।
विषादी परीक्षणको नतिजा (२०७४ साउनदेखि २०७५वैशाखसम्म)
नोटः हरियो खान हुने; पहेँलो विषादीयुक्त, केही दिन राख्ने, फेरि जाँच्ने; रातो अत्यधिक विषादीयुक्त, नष्ट गर्नुपर्ने ।
सर्लाहीको नवलपुरमा रहेको परीक्षण केन्द्रले ४०० वटा नमुना जाँच्दा ४ वटा खान नहुने र ३६ वटा खान हुने वा नहुने भनी भन्न नसकिने अवस्थाका थिए ।
नेपालगञ्ज परीक्षण केन्द्रले १८४ वटा तरकारी जाँच गरेकोमा ३ वटा मात्र खान नहुने भेटिएको थियो । २४वटा खान हुने वा नहुने भनी भन्न नसकिने अवस्थाका थिए । काठमाडौंको कालीमाटीमा १५०६ वटा नमुना जाँच्दा तीनवटा खान नहुने र एउटा खान हुने वा नहुने भनी भन्न नसकिने अवस्थाका थिए ।
झापाको विर्तामोडमा २४४ वटा नमुना परीक्षण गरिएकोमा २ वटा मानव स्वास्थ्यलाई असर पर्ने र दुईवटा खान हुने वा नहुने भनी भन्न नसकिने अवस्थाका थिए । कैलालीको अत्तरियामा ५०७ वटा नमुना परीक्षण गरिएकोमा २ वटा खान नहुने ३ वटा खान हुने वा नहुने भनी भन्न नसकिने अवस्थाका थिए ।
बुटवल परीक्षण केन्द्रले परीक्षण गर्दा खान नहुने तरकारी र फलफूल भेटिएन । सो केन्द्रले ३२९ वटा नमुना लिएकोमा ४ वटा खान हुने वा नहुने भनी भन्न नसकिने अवस्थाका थिए ।
कालिमाटी परीक्षण केन्द्रमा दश महिनामा १,५०६ वटा नमूना जाँचिएकोमा बोडी, खुर्सानी र रामतोरिया गरी ३ वटा तरकारीमा खान नमिल्ने मात्रामा रासायनिक विषादी प्रयोग भएको भेटिएको थियो । ती तरकारी धादिङ, मकवानपुर र सर्लाहीबाट ल्याइएका थिए ।
बिर्तामोड परीक्षण केन्द्रमा २४४ वटा नमूनामा गोलभेडा र केरा गरी २ वटा नमूना खान नहुने पाइएका थिए । ती इलाम र भारतबाट ल्याइएका थिए ।
नवलपुर सर्लाहीको परीक्षण केन्द्रको ६ महिनाको मात्र तथ्याङ्क उपलब्ध छ । असोज, कार्तिक, मंसिर र पुस महिनामा तराईमा बाढी र लोडसेडिङ्ले गर्दा विषादी जाँच गर्न नसकिएको रिपोर्टमा उल्लेख छ । सो केन्द्रले ४०० वटा नमुना जाँच्दा ४ वटामा अत्याधिक मात्रामा विषादी भेटिएको थियो । महोत्तरी र सर्लाहीबाट बेच्न ल्याइएका बोडी, केराउ र गोलभेडामा यस्तो विषादी भेटिएको थियो ।
पोखरा, कास्कीमा ५०७ वटा नमूना जाँचिएकोमा १९ वटा तरकारी तथा फलफूलमा मानव स्वास्थ्यलाई हानि पुर्याउने मात्रामा विषादी पाइएको थियो । ती तरकारी र फलफूल कास्की, रुपन्देही, सर्लाही, स्याङ्जा, तनहुँ र भारतबाट ल्याइएका थिए । खान नहुने तरकारीमध्ये बोडीका ३ वटा नमूना, आलुका ४ वटा नमूना, गोलभेंडाको एउटा र लामो फर्सी (जुकिनी) को एउटा नमूनामा बढी विषादी भेटिएको थियो । त्यस्तै फलफूलमा जुनारको एउटा र सुन्तलाका ९ वटा नमूनामा खान हुने भन्दा बढी मात्रामा विषादी फेला परेको थियो ।
कैलालीको अत्तरियाको प्रयोगशालामा ५०७ वटामा नमूना जाँच्दा २ वटामा विषादीको मात्रामा खान हुनेभन्दा बढी पाइएको थियो । ती तरकारीमा कञ्चनपुरबाट ल्याइएका काँक्रो र रामतोरिया थिए ।
काठमाडौंको कालीमाटीको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला २०७२ असारदेखि चालू छ भने काठमाडौं जिल्ला बाहिरका ६ वटा परीक्षण प्रयोगशाला २०७४ वैशाखदेखि चलाइएका हुन् । नेपालमा हाल भएको प्रविधिले अर्गेनोफोस्फेट र कार्बामेट गरी दुई खालका रसायन मात्र परीक्षण गर्नसक्छ ।
बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी श्री रामकृष्ण सुवेदीका अनुसार नेपालमा विषादी परीक्षण प्रारम्भिक चरणमा छ । यसले धेरै समस्या झेल्नु परेको छ । परीक्षणलाई प्रभावकारी बनाउन कृषि मन्त्रालय/बाली संरक्षण निर्देशनालय र गृह मन्त्रालय/प्रहरी प्रशासन/ जिल्ला प्रशासन कार्यलय बीचमा समन्वय हुन जरुरी छ । तर अहिले गृह मन्त्रालयले यस विषयमा चासो देखाएको छैन । नमूना संकलन भएका तरकारी परीक्षणको रिर्पोट नआउँदासम्म बिक्री गर्न दिन हुँदैन तर अहिले त्यसो गरिँदैन । त्यसैले नमूना परीक्षणको नतिजा आउञ्जेलमा खान नमिल्ने ठहरिएका तरकारी पनि उपभोक्ताको भान्सामा पुगिसक्छन् । यसरी रोक्न नसक्दा व्यपारीहरुले परीक्षणलाई गम्भीरतापूर्वक लिएका छैनन् ।
परीक्षण गर्न चाहिने रसायन नपाइनु अर्को समस्या हो ।
नेपालमा प्रयोग गर्ने प्रविधि ताईवानको हो । यसका लागि चाहिने रसायन नेपालमा पाँइदैन् । बाहिरबाट निजी आपूर्तिकर्तासँग मगाउने गरिएको छ । रसायन महँगो हुने भएकाले जाँच गर्ने नमुना घटाइएको छ । पहिले दैनिक १० वटा नमुना जाँच गर्ने गरिएकोमा अहिले त्यसलाई घटाएर ६ वटा सम्म पारिएको कुरा कालीमाटी परीक्षण केन्द्रका प्रमुख मनबहादुर क्षेत्रीले बताए ।
पहिले नेपालमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशत अर्गेनोफोस्फेट हुन्थ्यो भने एकदुई वर्षयता यसको मात्रा घटेर ६० भएको कुरा बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी सुबेदीले बताए । संवेदनशील परजीवि र ढुसी मार्ने खालका रसायन परीक्षण गर्ने उपकरण ल्याउने तयारी भइरहेको भएपनि अरु विषादी परीक्षण गर्ने योजना तत्काल छैन ।
कर्मचारीको दरबन्दी नहुनु अर्को समस्या हो ।
बाली संरक्षण निर्देशनालयले एउटा परीक्षण केन्द्रमा चारजना कर्मचारीको दरबन्दी माग गरे पनि २ जना अस्थायी दरबन्दी स्वीकृत भएको छ । अहिले अत्तरियामा दुई जना, नेपालगञ्जमा एकजना, बुटवलमा दुईजना, सर्लाहीमा एकजना कर्मचारी छन् । बिर्तामोडमा दुईजना कर्मचारी भएपनि कार्यालय प्रमुख कृषि विकास कार्यालय र नगरपालिकाको काममा व्यस्त भएकाले एकजना मात्र कर्मचारीले समय दिएका छन् ।त्यस्तै पोखरामा एक जना कर्मचारीले अवकाश पाएपछि र अर्को कर्मचारी सरुवा भएपछि अहिले कृषि विकास मन्त्रालयबाट काजमा खटिएका एकजना कर्मचारीले मात्र काम गरिरहेका छन् । खटाइएका कर्मचारीले पनि परीक्षण कार्यमा सम्पूर्ण समय दिन नपाउने भएकाले र दरबन्दी कम भएकाले परीक्षणका काममा नराम्रो असर पारेको छ ।
तरकारी र फलफूलमा पाइने विषादी परीक्षणका लागि त्यस्ता तरकारी र फलफूल फल्ने ठाउँको नाकामा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने कुरा सुवेदीले बताएका छन् । नेपालमा तरकारी र फलफूल फलाउने मुख्यतया ३०० वटा ठाउँ छन् । ती ठाउँमा हरेकमा दुईवटा परीक्षण केन्द्र राख्ने हो भने विषादी भएको तरकारी र फलफूल बजार आउन बन्द हुने सुवेदीले बताए।
अर्कोतर्फ काभ्रे, चितवन, तनहुँ, झापा, बाँके, कैलाली र कपिलबस्तु लगायत जिल्लाका केही ठाउँमा जैविक विषादी प्रयोग गरेर तरकारी र फलफलफूलको उत्पादन भइरहेको छ । तर त्यस्तो उत्पादनले बजार पाउन अझै सकेको छैन ।
इन्जिना पन्थी / शुक्रबार, आषाढ २९, २०७५
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत