आमाको नाममा सजिलै नागरिकता नदिने २५ देशमध्ये नेपाल पनि एक

South Asia Check / आइतबार, फाल्गुण १९, २०७५

नेपालमा आमाका नामबाट नागरिकता दिने विषयलाई लिएर बहस चलिरहेका बेलामा साउथ एसिया चेकले विश्वमा लैङ्गिक समानता र नागरिकतासम्बन्धी कानुनी व्यवस्था बारेमा खोजेको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले गरेको लैङ्गिक समानता, नागरिकता कानुन र राज्यविहीनताबारेको सन् २०१८ को सर्भे अनुसार अहिलेसम्म विश्वमा २५ वटा देशमा सन्तानलाई नागरिकता प्रदान गर्न महिला र पुरुष नागरिकलाई समान अधिकार दिइएको  छैन् । ती देशमा आमाका नामबाट सन्तानले सजिलै नागरिकता पाउँदैनन् । आमाका नाममा नागरिकता नदिने अधिकांश देश मध्यपूर्व, उत्तर अफ्रिका (१२ देश) र उपसहारा अफ्रिकाका (६ देश) का छन् । यस्तैगरी, एशिया र प्रशान्त क्षेत्रका ५ वटा र अमेरिकाका दुईवटा देशले पनि नागरिकता प्रदान गर्ने सम्बन्धमा आमालाई बुबा सरह अधिकार दिएका छैनन् ।

महिलाले आफ्नो सन्तानलाई नागरिकता प्रदान गर्न नसक्ने देशहरुको वर्गीकरण

रातो चिन्ह भएका देशहरुको नागरिकता कानुनमा आमाले आफ्नो सन्तानलाई नागरिकता दिन सक्दैनन् या असाधारण अवस्थामा मात्र नागरिकता दिन पाउँछन् । यी देशमा जन्मेका सन्तान राज्यविहिन बन्ने अवस्था हुन्छ । सुन्तला रङ्कको चिन्ह लगाएका देशमा बाबुको पहिचान नभएको र बाबु राज्यविहीन भएका सन्तानले आमाका नामबाट नागरिकता पाउने प्रावधान छ । पहेंलो रङ्ग लागेका देशमा महिलाले सन्तानलाई नागरिकता दिन सक्ने अवस्थालाई सीमित गरिएको छ तर सन्तान राज्यविहिन बन्ने अवस्था कम गरिएको छ ।

कतारको कानुन अनुसार आमाले कुनै पनि अवस्थामा सन्तानलाई नागरिकता प्रदान गर्न सक्दैनन् । कुवेती नागरिक महिलाका सन्तानका बाबुको ठेगान नभएमा या बाबु प्रमाणित नभएमा उसले वालिग भएपछि नागरिकताका लागि आवेदन दिनसक्छ । कुवेतको आन्तरिक मामला मन्त्रीको सिफारिसका आधारमा उसलाई नागरिकता दिने वा नदिने भनी निर्णय गरिन्छ । तर यो असाधारण उपाय हो जुन विरलै अभ्यास हुन्छ ।

लेबनानको नागरिकता कानुनले पनि पुरुष नागरिकलाई मात्रै सन्तानलाई नागरिकता प्रदान गर्न सक्ने अधिकार दिएको छ । विवाह नभइ जन्मेको र नाबालक हुँदा आमासँगको नातास्थापित भएको अवस्थामा सन्तानले आमाका नामबाट नागरिकता पाउन सक्छन् ।

जोर्डन, लिविया, साउदी अरेविया र संयुक्त अरब इमिरेटसको नागरिकता सम्बन्धी कानुनले  महिला नागरिकलाई विदेशी नागरिकसँग विवाह पश्चात जन्मेको सन्तानलाई नागरिकता प्रदान गर्ने अधिकार दिएको छैन् । तर बाबुको ठेगान नलाग्दा, बाबुसँग नाता प्रमाणित नहुँदा आमाका नामबाट सन्तानलाई नागरिकता दिलाउन सक्छन् ।

इराकको संविधान २००५ ले नागरिकताको हकमा लैङ्गिक समानता स्थापित गर्दै बुबा र आमा दुबैका नाममा वंशजका आधारमा नागरिकता प्रदान गर्न सक्ने अधिकार दिएको थियो । तर २००६ मा बनेको कानुनले इराक बाहिर जन्मिएका सन्तानलाई इराकी महिलाले आफ्ना नामबाट नागरिकता प्रदान गर्न नपाउने बनायो । बाबुको पहिचान नखुलेको र राज्यविहिन बाबुको सन्तानले उमेर पुगेपछि एक वर्ष भित्र आवेदन दिनुपर्ने व्यवस्था पनि सो ऐनले ग¥यो । आवेदन दिएको समयमा आवेदक इराकमा बसोबास गरेको हुनुपर्ने व्यवस्था छ ।

सिरियाको नागरिकता कानुन अनुसार बाबुसँग रगतको नाता प्रमाणित नभएको अवस्थामा सिरियामा जन्मेको सन्तानलाई आमाको नामबाट नागरिकता दिन सकिन्छ ।

बहराइनको कानुनले बाबुको पहिचान नखुलेको वा बाबु राज्यविहिन अवस्थामा बहराइन भित्र र बाहिर जन्मेका सन्तानलाई आमाका नामबाट नागरिकता प्रदान गर्छ  । ओमनको कानुनमा पनि बाबुको पहिचान नभएको वा बाबु ओमनको पूर्व नागरिक भएको अवस्थामा देश बाहिर र भित्र जन्मिएका सन्तानलाई आमाका नामबाट नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।

मरिटानियाको कानुन अनुसार बाबुको पहिचान नखुलेको वा राज्यविहिन भएको अवस्थामा आमाको नाममा नागकिता प्रदान गरिन्छ । मरिटानियन आमा र विदेशी बाबुबाट मरिटानियामा जन्मेको सन्तानले नागरिकता पाउन सक्छ । मरिटानियन आमा र विदेशी बाबुबाट विदेशमा जन्मिएको बालकले उमेर पुग्नुभन्दा एक वर्ष अगाडि नै निवेदन दिन सक्छन् ।

सोमालिया र स्वाजील्यान्डको नागरिकता कानुनले बाबु र आमालाई बराबर अधिकार प्रदान गर्दैन । १९६२ को सोमाली नागरिकता कानुन अनुसार सोमाली पुरुषले मात्र सन्तानलाई नागरिकता प्रदान गर्न सक्छन् । स्वाजील्यान्डको २००५ को संविधानअनुशार सन् २००५ अगाडि स्वाजील्यान्ड भित्र र बाहिर कुनै पनि एक स्वाजी नागरिकबाट जन्मिएको बालकले वंशजका आधारमा नागरिकता पाउँछ । तथापि विवाह नभइ जन्मेको बालक र बाबुले परम्परागत कानुन अनुसार मेरो सन्तान हो भनी स्वीकार नगरेको बालक बाहेक २००५ पछि जन्मेका बालकका हकमा स्वाजी बाबुको नामबाट मात्र नागरिकता प्राप्त गर्नसक्छ ।

बुरुन्डीको सन् २००० को राष्ट्रियता संहिताले सामान्य अवस्थामा महिलालाई नागरिकता प्रदान गर्ने अधिकार दिएको छैन । तर आमासँग रगतको नाता प्रमाणित भएको विवाहेतर सम्बन्धबाट जन्मिएको, बाबुको पहिचान नभएको र बाबुले अस्वीकार गरेको अवस्थामा आमाका नामबाट नागरिकता दिने प्रावधान छ ।

लाइबेरियनको विदेशी र राष्ट्रियता कानुन १९७३ अनुसार लाइब्रेरीयामा जन्मेको बालकले नागरिकता प्राप्त गर्न सक्छ तर लाइबेरियन आमाको देश बाहिर जन्मिएको सन्तानले नागरिकता प्राप्त गर्न सक्दैन् ।

टोगोको राष्ट्रियता कानुन १९७८ मा टोगोको भूभागमा जन्मेका अरु राज्यको नागरिकता दाबी गर्न नसक्ने बालकलाई नागरिकता प्रदान गर्ने प्रावधान छ । बाबुको राष्ट्रियताको पहिचान नभएको या बाबु राज्यविहिन भएको अवस्थामा आमाका नामबाट नागरिकता दिइन्छ ।

सुडानमा २००५ मा संशोधित कानुन अनुशार सुडानिज आमाको नामबाट जन्मको आधारमा नागरिकता लिन नागरिकता आवेदन प्रक्रिया मार्फत जानुपर्छ ।

ब्रुनाई दारुसलाम र इरानमा महिलाका नामबाट कुनै पनि अवस्थामा नागरिकता दिइँदैन ।

किरिबाटीको कानुनअनुसार महिला र पुरुष दुबै नागरिकबाट जन्मेका सन्तानले नागरिकता पाउँछन् । तर किरिबाटी बाहिर जन्मेको बालकका हकमा भने बाबुका नामबाट मात्र सन्तानले नागरिकता पाउँछन् । मलेसियन बाबु वा आमाका सन्तानले नागरिकता पाँउछन् । मलेसिया बाहिर मलेसियन महिला नागरिकबाट जन्मेको सन्तानका हकमा विदेश स्थित मलेसियन वाणिज्य दूतावास वा राष्ट्रिय पंजीकरण विभाग मलेसिया मार्फत संघीय सरकारको स्वविवेकले प्रदान गर्न सक्छ ।

नेपालको नागरिकता कानुन अनुसार बाबुले सबै परिस्थितिमा सन्तानलाई नागरिकता प्रदान गर्नसक्छन् । नेपाली आमा र विदेशी बाबुबाट नेपालभित्र जन्मेको सन्तानको हकमा बाबु आमा नेपाल भित्र बसोबास गर्छन र विदेशी नागरिकता लिएका छैनन् भने अंगिकृत नागरिकता प्रदान गर्ने व्यवस्था छ ।

बहमासको कानुन अनुसार बहमियन पुरुष वा महिलाले आफ्नो सन्तानलाई नागरिकता प्रदान गर्न सक्छन् । बहमास भन्दा बाहिर जन्मिएका बालकका हकमा बाबुले नागरिकता दिनसक्छन् तर आमाको नाममा नागरिकता प्राप्त हुँदैन् । ब्रदादोसमा पनि नागरिक महिला वा पुरुषले सन्तानलाई नागरिकता प्रदान गर्न सक्छन् । तर देशबाहिर जन्मिएका सन्तानले आमाका नाममा नागरिकता पाउँदैनन् ।

साउथ एशिया चेक / शुक्रबार, चैत्र १, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री