छैन खानेपानी

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

पाल्पा, तानसेन बजार, नारायणथानको ढुंगेधारा । रातिको १० बजिसक्यो । सामान्यतया यतिबेला मानिसहरू आआफ्ना घरमा हुनुपर्ने हो । तर यस ढुंगेधारामा बृद्धबृद्धा, केटाकेटी र युवायुवती धारामा लामो लाइनमा बसेका हुन्छन् । गाग्रा, जर्किन आदि लिएर ।

“यस ढुंगेधाराले राती १२ देखि ३ बजेसम्म मात्र फुर्सद पाउँछ,” खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख केशवलाल शाक्य भन्छन् । अघिल्लो दिन पानीको लाममा बसेकाहरू सुत्न गएको तीन घण्टा जतिमै हिजो चाँडै सुतेकाहरू उठेर धारामा लाम लागिसक्छन् ।

दिउँसो अफिस र अन्य कामबाट फुर्सद निकाल्न सक्नेहरू दिउँसो धारामा आउँछन् । उनीहरूले पनि लाममा त बस्नुपर्छ तर दिउँसोको लाम रातीको जति लामो हुँदैन ।

तानसेन खानेपानीको अनिकाल भोगेका नेपालका पहाडे बजारमध्येको एक हो ।

तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यका अनुसार तानसेनमा दिनको २५ लाख लिटर पानी चाहिन्छ । सुख्खा याममा आपूर्ति घटेर ७ लाख लिटर मात्र हुन्छ । “एक दिनमा १८ लाख लिटर पानी अपुग छ,” अध्यक्ष शाक्य भन्छन् ।

तानसेनमा खानेपानी खुवाउने पानीका मुहान सुक्दै र बिग्रंदै गएका छन् । “यस पालि पानी परेन । खडेरीले गर्दा धारा सुके । निसान धारा सुक्यो । वैशाखसम्म सानो पानी आउँथ्यो । अहिले चैतमै सुक्यो । नारायणथानको पानी पनि सानो भयो,”  अध्यक्ष चकोरमान भन्छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका अनुसारः

  • भुल्केको मूलबाट पहिले १५ लाख लिटर पानी आउँथ्यो । सुख्खा याममा ६ देखि ७ लाख लिटर मात्रै आउँछ ।
  • सिस्नेको मूलबाट एक दिनमा साढे चार लाख लिटर पानी ल्याउन मिल्थ्यो । सुख्खामा यसको आधा मात्रै आउँछ ।
  • होलाङ्दीबाट एक दिनमा अढाइ लाख लिटर पानी आउँथ्यो अहिले सवा लाख लिटर मात्र आउँछ ।
  • तीनधाराबाट दिनको ८० हजार लिटर पानी आउँथ्यो । त्यसमा फोहर मिसिएको छ । सफा भएका खण्डमा पनि यसबाट सुख्खा याममा ६० हजार लिटर मात्रै आउँछ ।
  • सत्तरी वर्षदेखि तानसेनलाई पानी खुवाएको कुरूङ खोलाबाट अहिले दिनको ८० हजार लिटर जति मात्र पानी आउँछ । यसको पाइपको हावा फाल्ने सिस्टम बन्द छ । धेरै पानी चुहिएर खेर जान्छ । पुरानो जिआइ पाइप मर्मत गर्न गारो छ ।

तानसेनमा मान्छे बढ्नाले पनि खानेपानीको हाहाकार भएको हो । “भुल्केको खानेपानी योजना बनाएका बेला तानसेनमा १२ हजार मानिस थिए । अहिले स्थायी र अस्थायी गरी ३० हजार मानिस बस्छन् । ठूला स्रोत थपिएका छैनन । माग बढेको बढ्यै छ,” खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख केशवलाल शाक्य भन्छन् ।

मानिसको जीवनशैली फेरिएकाले पनि तानसेनमा बढी खानेपानी चाहिएको हो । खानेपानी उपभोक्ता समूहका अध्यक्ष शाक्य भन्छन्, “पानीको उपभोग बढ्यो । चर्पीमा फ्लस सिस्टम आयो । नुहाउने चलन बढ्यो । पहिले एउटा घरमा एउटा चर्पी हुन्थ्यो । अहिले कोठैपिच्छे हुन थाले ।”

तानसेनका खानेपानीका मुहानमध्ये एउटा सानोबाहेक सबै मुहान तानसेनभन्दा तल छन् । तिनको पानी मेशिनले तानेर माथि लानुपर्छ । त्यसका लागि विजुली नियमित रूपमा आउनुपर्छ । तर बुटवल-तानसेनको विजुलीको लाइन कति जीर्ण भइसकेको छ भने हावा विस्तारोसँग चल्दा पनि विजुली बन्द हुन्छ । नेपाल विद्युत प्राधिकरणको रेकर्ड अनुसार २०७२ साल चैत २३ गते तानसेनमा १० पटक विजुली बन्द भएको थियो । चैत २३ गतेदेखि २४ गतेबीचमा लगातार १५ घण्टासम्म विजुली काटिएको थियो । कहिलेकाहिँ त तीन दिनसम्म विजुली आउँदैन ।

विजुली नभएपछि खानेपानी तान्न र पाइपमा पठाउन सकिँदैन । यसो भएपछि खानेपानी उपभोक्ता समितिले पाइपमा पानी पठाउनुका सट्टामा रेडियोबाट यस्तो खबर पठाउँछः विजुली बन्द भएकाले खानेपानी पठाउन असमर्थ छौं ।

“पहिले दुईतीन दिन बिराएर पानी दिन्थ्यौं । अहिले त्यसो गर्न सकिएको छैन,” खानेपानी उपभोक्ता समूहका कोषाध्यक्ष भीमसेन कार्की भन्छन् ।

पानीको यो अनिकाल पूरा गर्न यहाँका अधिकांश मानिस तीन धारा, पहरे धारा, पोल धारा, होलङ्दी धारा लगायतका १४ वटा ढुंगे धारामा भर परेका छन् । पानीका ट्यांकर बोकेका ट्रयाक्टर तानसेन बजारमा छिनछिनमा दौडिरहेका हुन्छन् । यी ट्यांकरले प्रभास, डुम्रे, जोरधारा र केराबारीबाट पानी ल्याएर तानसेन बजारमा बेच्छन् ।

“जसरी अस्पताल खोल्दा एम्बुलेन्स राख्नै पर्छ पाल्पामा होटल खोल्दा पानी बोक्ने ट्याङ्कर राख्नै पर्छ,” ह्वाइट लोटस होटलका रामप्रसाद ज्ञवाली भन्छन् । “चौध १४ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्छ ।”

खानेपानीको यो अभाव पूरा गर्न पोहरसाल तानसेनभन्दा तल प्रभासमा बोरिङ गरेको थियो । माडीफाँटमा पनि बोरिङ गर्ने योजना थियो । खानेपानी डिभिजनका अनुसार यी दुई ठाउँबाट दिनको ९ लाख लिटर पानी ल्याउन सकिन्छ ।

तर खानेपानीको भण्डार छेउका किसानले यसरी पानी लैँजाँदा त्यहाँको पानी सुक्छ र खेती गर्न पाइँदैन भनेर त्यसो गर्न दिएनन् ।

यो प्रयास असफल भएपछि डिभिजन कार्यालयले अहिले रानी महलभन्दा डेढ किलोमिटर माथि कालीगण्डकी नदीबाट पानी ल्याउन सर्भेको गरेको छ । यसले आगामी १९ वर्षको माग धान्ने आशा डिभिजन कार्यालयले गरेको छ । त्यतिबेला तानसेनमा एक दिनमा ४२ लाख लिटर पानी चाहिने अनुमान गरिएको छ ।

कालीगण्डकीको पानी तानसेन पुर्‍याउन उति सजिलो भने छैन । यसका लागि नदीको पानी एक किलोमिटर ७४ मिटर उचाइमा चढाउनुपर्छ । यसो गर्न पाँच खेप हाल्नुपर्छ । अर्थात् पाँच पटक मेशिन लगाउनुपर्छ । सबै पाँचैवटा मेशिन दिनको १८ घण्टाका दरले चलाउनुपर्छ ।

शुरुमा बनाउन २८ करोड रुपैया लाग्छ । यसो गरेर ल्याएको एक हजार लिटर पानीका लागि ३० रुपैया खर्च लाग्छ । अहिले तानसेन खानेपानी उपभोक्ता समितिले १० हजार लिटर पानीको रु १५० मात्र लिने गरेको छ । त्यो पनि एक महिनामा १० हजार लिटर पानी दिन सकेका खण्डमा मात्र । अर्थात् यो योजनाको पानी ल्याएर अहिलेकै दरमा बेचेका खण्डमा समिते खर्चको आधा रकम मात्र उठाउन सक्छ ।

उपभोक्ता समितिका कोषाध्यक्ष कार्कीका अनुसार समितिले आउने साउनदेखि खानेपानीके पैसा बढाउने विचार गरेको छ तर पानी नै कम भएकाले पैसा बढाउन समिति अलि हच्किएको छ ।

उपभोक्ता समितिले अहिले नै पनि खर्चको आधा मात्र पैसा उठाउन सकेको छ । अध्यक्ष चकोरमान भन्छन्-  एक महिनाको ११ लाख रुपैया त विजुलीका लागि तिर्नुपर्छ ।

अर्थमन्त्री रामशरण महतले २०७१ साल असार २९ गते दिएको आर्थिक वर्ष २०७१/७२ को बजेट बक्तव्यमा भनेका थिए- जलवायू परिवर्तनले गर्दा खानेपानीका स्रोत सुक्दै गएकाले खानेपानी प्रणालीमा प्रयोग हुने विजुलीमा डिमान्ड चार्ज नलाग्ने ब्यवस्था मिलाएको छु ।

“तर हामीले अहिलेसम्म पनि डिमान्ड चार्ज तिरिरहनु परेको छ । एक महिनाको एक लाख रुपैया त डिमान्ड चार्ज नै तिर्नुपर्छ,” अध्यक्ष चकोरमान भन्छन् ।

खानेपानी उपभोक्ता समिति कालीगण्डकीबाट पानी ल्याउने आयोजनाका लागि बजेट छुट्याइ माग्न सरकारलाई झकझक्याइरहेको छ । पाल्पाका हितैषी मानिएका हालका अर्थमन्त्री विष्णु पौडेलले आउने आर्थिक वर्षमा यसका लागि बजेटमा बजेट ब्यवस्था गर्ने आश्वासन दिएका छन् ।

“हामी अहिले सरकार नफेरियोस भनेर कामना गरिरहेका छौं। यस वर्ष काम थाल्न पाए दुईतीन वर्षभित्रमा काम सकिन्थ्यो,” चकोरमान भन्छन् ।

– See more at: http://web.archive.org/web/20160922232448/http://southasiacheck.org/np/in-public-interest/%E0%A4%9B%E0%A5%88%E0%A4%A8-%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80/#sthash.A6Hc3fmz.dpufमोहन मैनाली / मंगलबार, बैशाख २८, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री