कोरोनाभाइरसबारे जान्नै पर्ने १० तथ्य

Injina Panthi / शुक्रबार, फाल्गुण २, २०७६

नोबेल कोरोनाभाइरसको डिजिटल चित्रण                                                तस्विर:जानलुका टोमासेल्ला / विकीमीडिया कमन्स

चीनको हुबे प्रान्तबाट फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९) विश्वभरका मानिसको स्वास्थ्यका लागि चुनौती बनेको छ । कोरोनाभाइरसको त्रास फैलिनमा विभिन्न मिथ्या विवरण एवं भ्रमहरू उत्तिकै जिम्मेवार रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा समेत ठूला नेतादेखि सर्वसाधारणसम्म त्यस्ता भ्रमबाट प्रभावित छन् । नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनमा फैलिएको भाइरसको प्रकोपमा ‘राजनीति मिसिएको र चीनलाई नरूचाउने शक्तिहरूले वातावरणलाई त्रसित बनाइदिन खोजेको हुनसक्ने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए । उता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भाइरस अमेरिकाले फैलाइदिएको हुनसक्ने बताए । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले समेत त्यहाँ दर्जनौमा फैलिएको रूघाखोकीलाई अनुसन्धान बिना नै कोरोनाभाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै माथिल्ला निकायलाई पत्राचार गरेको थियो । रुघाखोकी लाग्नासाथ कोरोनाभाइरसको आशंकामा अस्पतालमा बिरामीहरू आउने गरेको चिकित्सकहरूले बताएका छन् ।

चीनको वुहानबाट ल्याइने नेपालीलाई चिकित्सकको निगरानीमा अलग राख्ने भनिएको भक्तपुरको खरिपाटीका बासिन्दाले त्यहाँ पानीको स्रोत रहेको र हावाबाटै भाइरस सर्नसक्ने बताई आफ्नो ज्यान जोखिम पर्ने भन्दै विरोध गरेका छन् । विज्ञहरूले भने यस्ता भ्रम र अफवाह चिर्न सरकार अग्रसर नहुँदा सामान्य अवस्था पनि जटिल देखिएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितको १ प्रतिशतको हाराहारीमा मात्र चीन बाहेकका देशमा याे महामारी फैलिएकाे  छ भने संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या १० प्रतिशतभन्दा कम छ । तर त्यसलाई मृत्युदरको रूपमा बुझ्न नहुने बीबीसीले जनाएको छ । अझैसम्म पनि यो कुन जनावर वा अन्य प्राणीबाट  फैलिएको हो र यसले कसरी शरीरमा असर  पु-याउँछ भन्ने स्पष्ट भइसकेको छैन ।

१. के हो कोरोनाभाइरस ?

श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण भएपछि निमोनियाको लक्षण देखिने कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरस परिवारको एउटा सदस्य हो । ज्वरो आउने, सुख्खा रूघाखोकी लाग्ने र श्वासप्रश्वासमा असर गर्ने यस भाइरस यसअघि मानिसमा देखिएको थिएन । त्यसैले हालसम्म यसको खोप पनि विकास गरिएको छैन । यस रोग जनावरबाट मानिसमा फैलिएको ठानिएको छ । चिनियाँहरूले गरेका केही अनुसन्धानमा चमेराबाट सरेको हुनसक्ने उल्लेख गरिए पनि त्यसको  पुष्टि हुन सकेको छैन । जनावरहरूमा भने यस परिवारका भाइरसहरू यसअघि पनि फैलिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यससँग मिल्दोजुल्दो १५ वर्षअघि फैलिएको सार्सको  एकखाले बिरालोबाट मानिसमा सरेको थियो ।

हालसम्मका बिरामी एवं संक्रमितहरुको अवस्था विश्लेषण गर्दा कोराना भाइरसबाट सामान्य प्रभावित हुनेको संख्या धेरै छ। एक चौथाई जतिमा मात्र गम्भीर असर देखिएको छ ।

२. यसका लक्षणहरु कस्ता हुन्छन् ?

१००.४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभीड–१९ भनिने यो भाइरस खोक्दा र हाछयँु गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ ।

३. यसका बिरामीलाई कति समय अलग राख्नुपर्छ ?

यसको परीक्षण अवधि दुईदेखि १४ दिनको हुने भएकोले त्यति समय बिरामीलाई अलग राख्नु (अर्थात् क्वारेन्टाइन) पर्छ । यसको लक्षण राम्रोसँग नदेखिई संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएका कारण अहिले दुई साताका लागि अलग बस्दै निगरानीमा राख्न विश्व स्वास्थ्य संगठनले सुझाएकाे छ।

४. कुन उमेरका मानिस बढी जोखिममा छन् ?

हरेक उमेरका मानिस यस भाइरसबाट संक्रमित हुने भएपनि वृद्ध र स्वास्थ्य कमजोर भएका मानिस धेरै जोखिममा हुने देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चीनमा मृत्यु हुनेमा ८० प्रतिशत मानिसहरु ६५ वर्षभन्दा माथिका छन् भने ७५ प्रतिशतमा मुटु सम्बन्धी रोग र मधुमेहका बिरामी छन् ।

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार चीनबाहिर प्रभावित मानिसहरुको उमेर ४५ वर्षको छ र संक्रमण हुनेमा महिलाको भन्दा पुरुषको संख्या धेरै छ ।

५.यसबाट कसरी बच्न सकिन्छ ?

नोबल कोरोना भाइरस नयाँ किसिमको भाइरस भएकोले अहिलेसम्म त्यसको खोप र उपचारविधि पत्ता लागेको छैन । तर सरसफाइमा ध्यान दिनु नै यसको संक्रमण फैलिनबाट बच्ने उपाय हाे । नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्यँु गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, त्यस्तो लक्षण हुने व्यक्तिको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरपालुवा पशुपंछीसँग टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रोसँग पकाएर खाने, सार्वजनिक स्थानमा जादा मास्क लगाउने आदि जस्ता सावधानी अपनाउनु पर्छ ।

६. विश्व स्वास्थ्य संगठनले के गरिरहेको छ ?

विश्व स्वास्थ्य संगठनले सुरुदेखिनै लाक्षणिक आधारमा प्रमाणित संक्रमित संख्याको तथ्याङ्क राख्ने गरेको  छ । जनचेतना जगाउन, महामारीबाट संक्रमणको रोकथामको लागि कोरोनाभाइरस के हो, कसरी बच्ने र के गर्ने भनेर भिडियो सन्देश प्रसारण गरिरहेको छ । कोरानाभाइसलाई लिएर फैलिएका भ्रमलाई चिर्ने प्रयास गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले यसै साता जेनेभामा ग्लोबल रिसर्च र इनोभेसन फोरम आयोजना गरेको थियो । त्यस कार्यक्रममा विश्वका वैज्ञानिकहरु, सरोकारवालाहरु भेला भएका थिए ।  कार्यक्रममा खोप पत्ता लगाउन अध्ययन अनुसन्धान गर्ने,  तीब्र गतिमा फैलिएको भाइरसलाई रोक्ने, स्थलगत अध्ययनलाई तीव्रता दिने , खोप पत्ता लगाउन आर्थिक र संरचनात्मक पूर्वाधार तयार गर्ने र यसकाे राेकथामलाई प्राथमिकतामा राख्ने घोषणा गरिएको थियो ।

७. नेपालमा कोरोनभाइरसको अवस्था के छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म नेपालमा शंकास्पद १८ जनामा परीक्षण गरिएकोमा १ जनामा मात्र यस भाइरस भेटिएको पुष्टि भएको छ । ती व्यक्ति निको भएर घर गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८. नेपालले कोरानाभाइरसको रोकथामको लागि के गरेको छ ?

सरकारले कोरोनाभाइरस महामारीसँग लड्ने योजना कार्यान्वयन गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार पहिलो योजना अन्तर्गत महामारी विरुद्ध सतर्कता, रोकथामको उपाय र तयारी पर्छ ।  सरकारले दोस्रो र तेस्रो योजना पनि तयारी अवस्थामा रहेको जनाएको छ । स्थिति जटिल हुँदै गए दोस्रो योजना र चीनको वुहानजस्तै स्थिति देखिने सम्भावना भए तेस्रो योजना अन्तर्गत भेटघाट नियन्त्रण (लक डाउन), शंका लागेकालाई अलग राख्ने, उपचारका लागि मुलुकमा उपलब्ध सम्पूर्ण क्षमतालाई उपयोग गर्ने तयारी छ ।

९. चीनको वुहानबाट नेपालीलाई ल्याएपछि कहाँ कसरी राख्ने व्यवस्था मिलाइएको छ ?       

चीनको हुबे प्रान्तको राजधानी वुहानलगायत शहरबाट करिब १८० नेपालीले स्वदेश फर्कनका लागि  नेपाली दूतावासमा निवेदन दिएका छन् । ती नेपालीलाई लिन नेपाल वायुसेवा निगमको एउटा विमान शनिबार चीन जाँदैछ । नेपाल फर्कनुअघि उनीहरूलाई चीनमै समेत स्वास्थ्य जाँच गरिने र नेपालमा निगरानीमा राख्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुशरण गर्ने   व्यावस्था गरिएको हुँदा आतंकित नहुन मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले आग्रह गरेका छन् । “नेपालमा पूर्वाधार कमजोर भएपनि रोग पत्ता लगाउने उपकरण भएको र चीनबाट फर्किनेलाई विमानस्थलमा निरीक्षण गर्ने र शंका लागेकाहरुलाई अस्पताल र रोगको लक्षण नभएकालाई अलग स्थलमा राखिने छ,” उनले भने । चीनबाट फिर्ता ल्याइने नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विशेष प्रक्रिया अपनाइँदैछ । विमानस्थलको एउटा निश्चित ठाउँमा चीनबाट आउने जहाजलाई अवतरण गरिनेछ । विमानस्थलमा चिकित्सकसहितको ५ वटा विशेष ‘हेल्थ डेस्क’समेत राखिनेछ । हेल्थ डेस्कमा  संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा उपकरण  लगाएका चिकित्साकर्मीलगायतले चीनबाट आउने सबै नेपालीको स्वास्थ्य परीक्षण गर्नेछन्।ती बिरामी सामान्य भए दुई सातासम्म अलग स्थानमा राख्न विशेष बसबाट खरिपाटी पठाइनेछ । तर कुनै व्यक्तिमा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिए विमानस्थलबाटै  अस्पताल लैजाने योजना मन्त्रालयको छ ।

१०. त्रास हैन, सतर्कता आवश्यक

सरकारले तयारी पूरा गरेको जनाएपनि सर्वसाधारण आश्वस्त हुन सकेका छैनन्। जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले नेपालमा जनचेतना फैलाएर सजग गराउनेभन्दा पनि त्रास फैलाउने काम भएको बताए ।

“तथ्याङ्क हेर्ने हो भने १०० जनामा ८० जना ठीक भएका र मृत्यु हुनेको संख्या २ प्रतिशत होला तर हामी मृत्युलाई मात्र केन्द्रमा राखिरहेका छौँ,” दीक्षितले भने, “विश्वलाई चुनौती बनेको भाइरसबाट बच्न संयमित भएर जनचेतना फैलाउनुपर्छ ।”

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री