अर्थमन्त्रीले संसदलाई ढाँटे
Injina Panthi / मंगलबार, साउन १४, २०७६
२०७६ असार १३ गते आर्थिक विधेयक २०७६ माथि भएको छलफलमा जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले निम्न दावी गरे ।
१. “नेपालीहरू बाहिर गएर पुस्तक छपाएर ल्यायो भन्सार लाग्दैन । अनि नेपालमा बिक्री वितरण गर्यो ।”
२. नेपालमा करिब सात हजार छापाखाना छन् ।
३. नेपालको मुद्रण उद्योगमा १ खर्बको लगानी छ ।
हामीले अर्थमन्त्रीको दावीको जाँच गरेका छौँ ।
दावी १. “नेपालीहरू बाहिर गएर पुस्तक छपाएर ल्यायो भन्सार लाग्दैन । अनि नेपालमा बिक्री वितरण गर्यो ।”
नेपाल सरकारको “भन्सार महसुल दरबन्दी २०७३/७४” को भाग ४९ मा नेपाली प्रकाशकले विदेशमा छापेर नेपाल पैठारी गर्दा लाग्ने भन्सारबारेमा उल्लेख छ । सो दस्ताबेजको ३२९ पेजमा “किताबको रूपमा” भनेर सार्क मुलुकबाट ल्याउँदा मोलको ६ प्रतिशत र अन्य मुलुकबाट ल्याउँदा १० प्रतिशत भन्ने उल्लेख छ ।
यो एक वर्ष मात्र होइन अर्को वर्षको भन्सार महसुल दरमा पनि किताबमा भन्सार लगाइएको छ । उदाहरणका लागि भन्सार महसुल दरबन्दी आ.ब. २०७५/७६ हेरौँ । सो दस्ताबेजको पेज ३१० मा पनि आर्थिक वर्ष २०७३/७४ कै ब्यबस्था कायम छ ।
तसर्थ अर्थमन्त्रीले यस विषयमा संसदलाई ढाँटेको ठहर्छ ।
दावी २. नेपालमा करिब सात हजार छापाखाना छन् ।
यस विषयमा सरकारी स्तरबाट आधिकारिक रुपमा प्रकाशित आंकडा हामीले फेला पार्न सकेनौँ । तर नेपाल मुद्रण उद्योग महासंघले २०७६ जेठ ४ मा अर्थमन्त्रालयलाई बुझाएको ज्ञापनपत्र अनुसार नेपालमा १,५०० मल्टी कलर सहित करिव ४,००० अफसेट प्रिन्टिङ्ग मेसिन र आवश्यक अन्य कटिङ्ग, परफेक्टिङ्ग, लगायतका मेसिन तथा औजारहरु रहेका छन् । नेपाल मुद्रण उद्योग महासंघको अनुशार करिव २ हजार ४ सय मुद्रण व्यवसायीहरु यस महासंघमा आवद्ध रहेका छन् ।
तसर्थ, लिखित कागजपत्रलाई उद्धृत नगरिकन अर्थमन्त्रीले गरेको यो दावी शंकास्पद छ ।
३. नेपालको मुद्रण उद्योगमा १ खर्बको लगानी छ ।
यस विषयमा पनि प्रकाशित आधिकारिक तथ्यांक भेट्न सकिएन तर नेपाली मुद्रण ब्यवसायीहरूको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले मे १८, २०१९ मा अर्थमन्त्रालयमा बुझाएको विज्ञप्ति अनुसार नेपालमा मुद्रण, बाइन्डिङ र प्याकेजिङसमेतको क्षेत्रमा गरी करिब १२ अर्ब स्थिर पूँजीको रुपमा मेसिन औजारमा मात्र लगानी रहेकाे छ।
अर्थमन्त्रीले गरेको दावी र नेपाल मुद्रण उद्योग महासंघको आंकडाभन्दा धेरै बढी भएकाले लिखित स्रोतलाई उद्धृत नगरिकन अर्थमन्त्रीले गरेको यो दावी पनि शंकास्पद छ ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत