गाँजालाई वैध बनाउने विधेयक किन ल्याइयो ? यसका फाइदा बेफाइदा के हुन् ?

South Asia Check / शुक्रबार, फाल्गुण २३, २०७६

 

तस्बिर: जेनिफर मार्टिन/विकिमिडिया कमन्स्

दीपक अधिकारी/सन्जोग सिवाकोटी

नेपालले गाँजा उत्पादन र विक्रीमा प्रतिबन्ध लगाएको करिब पाँच दशकपछि यसको वैधानिक प्रयोग खुल्ला गर्नेबारे छलफल शुरु भएको छ । गत फागुन १९ गते नेपाल कम्युनिष्ट पार्टीका सांसद शेरबहादुर तामाङले वर्तमान संसदको पहिलो गैर सरकारी विधेयकका रुपमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक दर्ता गरेका थिए । उक्त विधेयकमा नेपालमा गाँजा खेती खुल्ला गरी त्यसबाट औषधिको उत्पादन, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि उपलब्ध गराई ती उत्पादन विदेश निर्यात गर्ने प्रस्ताव गरिएको छ । त्यसको केही साता अघि नै सगरमाथा टेलिभिजनसँग बोल्दै सांसद विरोध खतिवडाले अमेरिका, क्यानडा लगायतका मुलुकले गाँजालाई वैध गरिसकेकोले नेपालले पनि खुल्ला गर्नुपर्ने माग गरेका थिए ।

गाँजा : लागुऔषध कि औषधि ?

अंग्रेजीमा क्यानाबीस भनिने गाँजा एक प्रकारको बाली हो । यो मध्य र दक्षिण एसियाको रैथाने बाली हो । नेपालमा यसको खेती तराई र पहाड दुवै ठाउँमा हुन्छ । यसमा पाइने टेट्रा हाइड्रो क्यानाबिनोल नामक तत्वले यसको सेवन गर्ने व्यक्तिमा नशा लगाउँछ । यसको सेवनले आनन्दको अनुभूति गराउने र काल्पनिक संसारमा पुर्‍याउने भएकाले लागुऔषधको रुपमा यसको प्रयोग गरिन्छ । यसको प्रयोग औषधि र मनोरञ्जनका लागि समेत गरिँदै आएको छ । पछिल्ला कतिपय शोध अनुसन्धानले दुखाइ कम गर्नमा यसको प्रयोग गर्न सकिने जनाएका छन् । प्राचीन समयमा मध्य र दक्षिण एसियामा यसलाई आयुर्वेदिक औषधीमा व्यापक रुपमा प्रयोग गरिन्थ्यो ।

यस सँगसँगै हेम्प भनिने अर्को एक गाँजा प्रजातिमा टेट्रा हाइड्रो क्यानाबिनोलको मात्रा तीन प्रतिशत भन्दा कम हुन्छ । यसमा नशा लगाउने तत्व कम हुने भएकोले यसलाई औद्योगिक प्रयोजनको लागि प्रयोग गरिन्छ ।

संसदमा दर्ता गरिएको गाँजा खेती विधेयकमा के प्रावधान छन् ?

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको उद्देश्य यसको खेती खुल्ला गरी गाँजा खेतीलाई प्रोत्साहन गर्ने र त्यसलाई नियमन गर्दै गैरकानुनी खेती तथा विक्री वितरणलाई नियन्त्रण गर्नु रहेको छ । विधेयकमा गाँजालाई यसको बोट, बिउ, फूल वा फल र गाँजा जातको भाङ वा सिद्धको पात, फूल, बिउ वा फल वा गाँजाको बोटबाट निस्कने खोटो, चोब आदि भनी परिभाषित गरिएको छ ।

हरेक घर परिवारले घरायसी प्रयोजनका लागि ६ वटासम्म बोट रोप्न पाउने विधेयकमा उल्लेख छ । त्यस्तै कपडा बनाउन वा औद्योगिक प्रयोजनका लागि वा खाद्य पदार्थको रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन र विक्रि वितरणका लागि भाङको खेती गर्न अनुमति लिनु नपर्ने प्रस्ताव विधेयकमा छ ।

तर गाँजाको व्यावसायिक खेती गर्न चाहने किसानले यसलाई नियमन गर्न प्रस्तावित बोर्डबाट अनुमति लिनु पर्नेछ । उनीहरुले जिल्ला कृषि ज्ञान केन्द्रमा अनुमतिका लागि निवेदन दिन सक्नेछन् । तर आफ्नो खेतमा गाँजामात्र लगाउन नपाउने विधेयकमा छ । त्यस्तै १८ वर्ष मुनिको व्यक्तिलाई यसको खेती वा विक्री वितरण गर्न अनुमति नदिने प्रस्ताव राखिएको छ । गाँजा र त्यसका उत्पादन (जस्तै चरेस, औषधि, तेल र कपडा) को निर्यात गर्न सकिनेछ । तर यसका उत्पादनको प्रचारप्रसार गर्न नपाइने प्रस्ताव विधेयकमा छ ।

कुन कुन देशमा गाँजा खेती र त्यसको प्रयोग वैध छ ?

केही दशक यता विभिन्न पश्चिमा मुलुकहरुले गाँजालाई वैधानिकता दिन थालेका छन् । सन् १९९५ मा औषधिमूलक प्रयोजनका लागि अमेरिकी राज्य क्यालिफोर्नियाले गाँजालाई वैधानिकता प्रदान गर्‍यो । सन् २०१३ मा ल्याटिन अमेरिकी देश उरुग्वेले गाँजा माथिको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गरेपछि अन्य देशले त्यसलाई पछ्याएका हुन् । पूर्ण रुपमा प्रतिबन्ध फुकुवा गर्ने पहिलो देश उरुग्वेमा यो औषधि, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि खुल्ला छ । सन् २०१८ मा क्यानडाले मनोरञ्जनात्मक, औषधि र शोधका लागि यसलाई खुल्ला गर्‍यो । अमेरिकाका अधिकांश राज्यमा यसलाई खुल्ला गरिएको छ (तर संघीय तहमा यो अझै प्रतिबन्धित छ) । चिली, पेरु, मेक्सिको, बोलिभिया, ब्राजिल, जमैका, कोलम्बिया, नेदरल्याण्ड, चेक रिपब्लिक, जर्मनी, इजरायल र थाइल्याण्डलगायत देशमा यसलाई खुल्ला गरिएको छ ।

नेपालमा पहिले किन गाँजालाई प्रतिबन्धित गरियो ?

तस्बिर: सुरेश बिडारी

परम्परागत रुपमा नेपालमा गाँजाको प्रयोग औषधिका रुपमा हुँदै आएको छ । २०३३ सालसम्म हिप्पी भनिने स्थलमार्गबाट पूर्वीय आध्यात्मिक ज्ञानको खोजीमा नेपालमा आएका पश्चिमी पर्यटकका लागि यो एउटा प्रमुख आकर्षण थियो । ‘क्यानाविस एण्ड कल्चर’ पुस्तकको एक अध्यायमा जेम्स फिसरले  सन् ६० को दशकमा विदेशीहरु आएर नेपालमा गाँजा सेवन गर्नुका साथै भारत निर्यात हुने गरेको उल्लेख गरेका छन् । यसैकारण यसको मुल्य आकाशिएको र तत्कालीन सरकारले पनि यसको व्यापारलाई अनुमतिपत्र लिनु पर्ने र कर तिर्ने व्यवस्था गरेको फिसरले उल्लेख गरेका छन् । हिप्पी युगका कारण अमेरिका, संयुक्त राष्ट्रसंघ र स्थानीय वासिन्दाको दबाबका कारण २०३३ सालमा नेपालको तत्कालीन सरकारले लागुऔषध नियन्त्रण ऐन मार्फत गाँजासहित भाङ, गाँजाका बोट, पात, फल र फुल अनि त्यसको चोप, खोटो आदिलाई लागुऔषधका रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगायो ।

संयुक्त राष्ट्रसंघको लागुऔषधको उत्पादन र आपुर्तिसम्बन्धी अभिसन्धि ‘सिङ्गल कन्भेसन अन नार्कोटिक ड्रग्स १९६१’ लाइ नेपालले सन् २००३ मा हस्ताक्षर गरेको हो ।

के नेपालले गाँजा खुल्ला गर्नुपर्छ ?

खासमा गाँजालाई अवैधानिक घोषणा गरिएको समयताका नै यसलाई खुल्ला गरिनुपर्ने आवाज उठ्न थालेको हो । फिसरले उल्लेख गरे अनुसार, नेपालमा गाँजा प्राचीन समयदेखि आयुर्वेदिक औषधिको रुपमा, मनोरञ्जनका लागि, खाद्य सामग्रीको रुपमा र भगवानको प्रसादको रुपमा प्रयोग गरिन्थ्यो । यसलाई पखाला, हैजा, टिटानस र अनिद्राको औषधिका रुपमा पनि प्रयोग गरिन्थ्यो । त्यस्तै अमेरिकन जर्नल अफ एग्रिकलचरल रिसर्चमा प्रकाशित एक अध्ययनका अनुसार गाँजाको बाली तापक्रम र जलवायु अनुसार लाग्ने भएकोले नेपाल विभिन्न प्रकारका गाँजा उत्पादानका लागि उर्वर भुमि हुनसक्छ । फिसरले पनि नेपालको हिमाली भेगमा बाहेक सम्पूर्ण भेगमा गाँजा उब्जाउ हुने जनाएका छन् । गाँजा खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि विभिन्न प्रयोजनका लागि यसको प्रयोगको नियमन गर्नुपर्ने आवश्यकता छ ।

“गाँजालाई वैध बनाउन सबैभन्दा पहिले हेम्पलाई खुल्ला गर्नुपर्छ । यसबाट विभिन्न व्यवसायिक उत्पादन गर्न सकिन्छ”, यसका अभियानकर्मि रबि प्रधानले साउथ एसिया चेकलाई बताए ।

तर अर्थशास्त्री विश्व पौडेलले भने पर्यटन क्षेत्रमा यस्को प्रयोग पहिल्यै भइसकेकोले यस्को व्यवसायिक सम्भावना हुनेमा शंका गरे । “यो ‌औषधि मुलक प्रयोजनका लागि उपयुक्त हुनसक्छ तर पर्यटन प्रबर्धन र मनोरञ्जनका लागि हैन,” उनले भने ।

के नेपालमा अहिले पनि अवैध रुपमा गाँजा खेती भइरहेको छ ?

पर्साको एक गाउँमा गाँजा खेती नष्ट गर्दै प्रहरी                               तस्बिर: सुरेश बिडारी

नेपालमा घर आँगन, खेतबारी सबैतिर गाँजा आफै उम्रिने भएकोले यो प्रशस्त मात्रामा पाइन्छ । यसरी आफै उम्रेको गाँजाको प्रयोग तथा बेचबिखन समेत भइरहेको छ । कतिपय स्थानमा अझै पनि व्यवसायिक गाँजा खेती भइरहेको छ । हरेक वर्ष विभिन्न जिल्लामा नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा फडानी गर्ने गर्छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार २०७३/०७४ मा करिब ४१३ बिगाहमा लगाइएको गाँजाको १७७६२ बोट नष्ट गरेइएको थियो । यसैगरी प्रहरीले २०७४/०७५ मा ५५९ बिगाहामा खेति गरिएको ९४६४ र २०७५/०७६ मा ४५७ बिगाहमा खेति गरिएको १९८४९२ बोट नष्ट गरेको थियो ।

गत मंसिरमा प्रकाशित ब्युरोको त्रैमासिक बुलेटिन अनुसार २०७५ पौषदेखि २०७६ असोजसम्म प्रहरीले ९६३३.५ के.जि गाँजा र २३९०.८ के.जि चरेस बरामद गरेको थियो ।

ग्राफिक्स श्रोत: लागूऔषध नियन्त्रण ब्युरो

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री