के गर्दैछ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित नेपालको पर्यटन क्षेत्र ?
South Asia Check / बुधबार, चैत्र ५, २०७६
नेपालमा एक पदयात्री तस्बिरः क्रिस्टाेफर बर्न्स/अनस्प्ल्यास
दीपक अधिकारी र इन्जिना पन्थी
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा एकजना मात्र संक्रमित भएपनि विदेशी पर्यटकमा निर्भर हिमाल आरोहण, पदयात्रा र होटल व्यवसाय यसको मारमा परेका छन् । सरकारले गत साता आगामी बसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणमा रोक लगायाे । पदयात्रामा सरकारले सिधै प्रतिबन्ध नलगाए पनि पदयात्रीले स्वास्थ्य प्रमाणपत्र पेश गर्नु पर्ने र १४ दिनसम्म अलग्गै बसेपछि पदयात्रामा जान पाउने नियमका कारण दुई साताअघिदेखि नै उनीहरुले आफ्नो यात्रा स्थगित वा रद्द गरेका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ भनिने उक्त रोगका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । नेपालमा पर्यटनको एक प्रमुख स्रोत मुलुक चीनमा उक्त भाइरस सबैभन्दा पहिला फैलिएको थियो भने अर्को स्रोत मुलुक भारतमा पनि यसबाट कम्तिमा तीन जनाको मृत्यु भइसकेको छ । नेपालले सन् २०२० लाई अन्तर्राष्ट्रिय भ्रमण वर्ष घोषणा गरी २० लाख विदेशी पर्यटक भित्र्याउने अभियान शुरु गरेलगत्तै यो संकट देखापरेको हो । उत्तर अमेरिका र युरोपजस्ता पर्यटनका प्रमुख स्रोत मुलुकसमेत यस महामारीसँग जुधिरहेका छन् । कैयौँ देशले पूरै शहरमा आवतजावत निषेध (लकडाउन) र भेटघाट अनि जमघटबाट टाढा रहन सामािजक दुरी (सोसल डिस्टेन्सिङ) आह्वान गरेका छन् । कोभिड–१९ को असर विश्वव्यापी र बहुआयामिक हुने भएता पनि नेपालको पर्यटन क्षेत्र अन्तर्गत पर्वतारोहण, पदयात्रा र होेटल व्यवसायमा यसले पारेको प्रभावबारे हामीले एक जानकारीमुलक सामग्री तयार पारेको छौँ ।
पर्यटन क्षेत्रमा कोरोना भाइरसको के कस्ताे प्रभाव पर्छ ?
पर्यटकीय सिजन शुरु हुने यो बेला भरिभराउ र भीडभाडयुक्त हुनुपर्ने काठमाडौँको ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहका होटल, रेस्टुरेन्ट र गल्ली यतिखेर सुनसान छन् । यसो किन भयो भने कुनैपनि महामारी वा विपत् फैलिनेबित्तिकै पर्यटन क्षेत्र सबैभन्दा छिटो प्रभावित हुन्छ । त्यसो हुनुमा विभिन्न देशले जारी गर्ने यात्रा सम्बन्धी सन्देश (ट्राभल एड्भाइजरी) र पर्यटक आफैले लिने निर्णय कारक हुन्छन् । स्रोत मुलुकमा हुने आर्थिक मन्दी तथा गन्तव्य मुलुकमा हुने प्राकृतिक विपत्ति र अन्य मानवसिर्जित घटनाका कारण पनि पर्यटकको संख्यामा कमी आउने गर्छ ।
हिमाल आरोहणः नेपालको पर्यटकीय गतिविधि सम्बन्धी ‘ब्राण्डिङ’ सर्वोच्च शिखर सगरमाथामा निर्भर हुन्छ । गत फागुन २८ गते सरकारले आगामी बसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणमा रोक लगाएपछि सन् २०१४ यता तेस्रो पटक सगरमाथामा आरोहण नहुने भएको छ । ‘आइसफल डाक्टर’ भनिने सगरमाथामा व्यावसायिक आरोहणका लागि बाटो बनाउने एक विशेष टोलीले आफ्नो काम शुरु गरिसकेको थियो भने टेन्ट, डोरी, अक्सिजन सिलिण्डरजस्ता सामग्री आधार शिविरतर्फ लैजाने तयारी हुँदै थियो । पर्यटन विभागका अनुसार यो सिजनका लागि १३ जना आरोहीले नेपालका हिमाल चढ्न अनुमति लिएका थिए ।
हरेक वर्ष करिब ३ सयदेखि ४ सयसम्म विदेशी आरोही सगरमाथाको आरोहणका लागि नेपाल आउँछन् । झण्डै त्यति नै संख्यामा उनीहरुका सहयोगी (पथ प्रदर्शक, भान्से, भरिया, प्रबन्धक आदि) ले सिजनमा काम पाउँछन् । बसन्त याममा अन्य हिमाल चढ्न ६ सयसम्म आरोही नेपाल आउँछन् । कतिपय आरोही एक्लै हिमाल चढ्छन् तर अधिकांशले पथप्रदर्शक, भान्से, भरिया, प्रबन्धक आदिको सहयोग लिन्छन् । बसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणबाट सरकारले करिब ४१ करोड राजश्ववापत उठाउँछ ।
“राम्रो ब्यापार भएमा हिमाल आरोहणबाट मात्र हामीलाइ वर्षेनि रु १४ कराेड आम्दानी हुन्छ । कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष हामीलाई करिब १४ करोड नोक्सान हुने देखिन्छ,” पर्वतारोहण संघ नेपालका अध्यक्ष सन्तवीर लामाले साउथ एसिया चेकलाई बताए, “बेरोजगारी बढ्छ । धेरै पर्यटन व्यवसायीहरुले ऋण लिएर ब्यापार गरेकाले समयमा बैंकको ब्याज र किस्ता तिर्न नसक्दा डुब्ने अवस्था छ ।”
पदयात्राः पदयात्राको मुख्य आकर्षण पनि हिमाल नै हुन् । नेपालका प्रमुख पदमार्ग सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, मनास्लु, मकालुजस्ता हिमाल नजिक र लाङटाङ, डोल्पो जस्ता संरक्षित क्षेत्रमा पर्छन् । टेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) की महासचिव सरिता लामाका अनुसार नेपालमा वर्षेनि १ लाख ८० हजार पर्यटकले पदयात्रा गर्छन् । त्यसरी पदयात्रा गर्नेमा युरोपेली मुलुकका नागरिक बढी हुन्छन् । पर्वतारोहण र पदयात्रा गरेर यो पर्यटन याममा मात्र १५ अर्ब रुपैयाँ घाटा हुनुका साथै एक लाख ५० हजार कामदार बेरोजगार हुनसक्ने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।
“यो सिजनल व्यवसाय भएकाले यसको दीर्घकालीन असर धेरै छ । कामदारको रोजीरोटीको सवाल छ,” टानकै लामाले बताइन् । उनका अनुसार नेपाल आउने १ लाखभन्दा बढी पदयात्रीमध्ये हरेकले दिनहुँ ८० अमेरिकी डलर खर्च गर्छन् भने १५ दिनसम्म नेपाल बस्छन् ।
सगरमाथा नजिककाे नाम्चे बजार तस्बिरः कल्ले काेर्ताेलाइनेन/अनस्प्ल्यास
होटल व्यवसायः पदयात्रा वा हिमाल आरोहणका लागि आउनेसहित अन्य पर्यटकको पहिलो वासस्थान होटल हुन् । राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका होटल अनि पदमार्गमा पर्ने होमस्टे र टि हाउससमेत मर्कामा परेका छन् । कतिपय होटलले आफ्ना कर्मचारीलाई विदामा पठाएका छन् भने कतिले उनीहरुले काम गर्ने समय घटाएका छन् ।
होटल संघ नेपालका अनुसार कोरोना भाइरसका कारण होटलको सरदर अकुपेन्सी दर १० प्रतिशत भन्दा कम रहेको छ । “न्युनतम ४० प्रतिशत अकुपेन्सी भएन भने होटल संचालन गर्न सम्भव नै हुँदैन,” संघकी अध्यक्ष सिर्जना राणाले काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा बताइन् । प्रारम्भिक तथ्याङ्क अनुसार होटल क्षेत्रले करिब १ अर्ब ८० करोड बराबर मासिक घाटा बेहोर्ने देखिन्छ ।
पर्यटन क्षेत्र किन बढी प्रभावित हुन्छ ?
पर्यटन मूलतः सेवामूलक व्यवसाय हो । यसैले गर्दा यसको असर सोचेभन्दा बढी पर्ने विज्ञहरु बताउँछन् । लण्डनमा मुख्यालय रहेका वल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको सन् २०१८ को प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.९ प्रतिशत छ । १० लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको यस क्षेत्रले मुलुकको अर्थतन्त्रमा करिब ४० अर्ब रुपैयाँको योगदान पुर्याएको छ । एक अध्ययन अनुसार एकजना पर्यटकले कम्तिमा ८ जनालाई रोजगारी दिन्छ । नेपालजस्तो देशमा अधिकांश परिवार एक जनाको आम्दानीमा भर पर्ने भएकोले यसको प्रभावमा ठूलो जनसंख्या पर्ने अनुमान गर्न सकिन्छ ।
पर्यटन व्यवसायलाई असर गर्दा त्यसमा प्रत्यक्ष र परोक्ष रुपमा यातायात, वायुसेवा, मनोरञ्जन, खेलकुद लगायत क्षेत्रमा काम गर्ने व्यक्ति प्रभावित हुन्छन् । टानकी महासचिव लामाका अनुसार पर्यटनमा असर पर्दा होटल, यातायात र हवाई सेवालाई सबैभन्दा पहिला क्षति पुग्छ ।
पर्वतकाे सदरमुकाम कुश्मास्थित कालिगण्डकी नदीमा निर्माणाधीन बञ्जी जम्प तस्बिरः दीपक अधिकारी
नेपालको पर्यटन क्षेत्रले यो संकटलाई कसरी झेलिरहेको छ ?
विगत एक सातायता पर्यटन व्यवसायीहरु सम्बन्धित सरोकारवालाहरुसँग विभिन्न राहत प्याकेज र छुटबारे छलफल गरिरहेका छन् । पर्यटन अन्तर्गतका सबै क्षेत्रले आफ्ना माग अघि सारेका छन् । व्यवसायीहरुले आफ्ना कर्मचारीलाई तलब, बैंकको ऋण र घरभाडा मुख्य चुनौती रहेको बताएका छन् । सहुलियतपूर्ण कर्जा, कर्जाको पुनःतालिकीकरण र कर छुट उनीहरुका मुख्य माग हुन् । होटल संघ नेपालका सदस्यहरुले बैंकबाट लिएको ऋण करिब एक अर्बको हाराहारीमा रहेको उक्त संस्थाकी अध्यक्ष सिर्जना राणाले बताएकी छन् ।
“सरकारले पर्यटन व्यवसायीहरुको लागि राहतको प्याकेज ल्याउनुपर्छ । सरकारले कर मिनाह दिनुपर्छ,” टानका अध्यक्ष सुवेदीले भने, “ हाम्रो व्यवसाय सामान्य अवस्थामा फर्किन एक वर्षसम्म लाग्ने हुनाले बैंक ऋण र ब्याज तिर्न सहज बनाइदिनुपर्यो । कर्मचारीलाई तलब खुवाउन आर्थिक सहयोग गर्नुपर्यो ।”
सुवेदीको भनाइमा सही थाप्दै नेपाल पर्वतारोहण संघका सन्तवीर लामाले सरकारले हिमाल आरोहणको क्षेत्रमा काम गरिरहेका कामदारलाई हिमाल सरसफाई गर्न लगाउनसक्ने बताए । “सरकारले वातावरणमा काम गर्ने संघ संस्थासँग सहकार्य गर्दै वातावरण कोषको प्रयोग गरेर हिमालको सरसफाइ थाल्नुपर्छ । यसो भएमा अहिले बेरोजगारमध्ये २५ प्रतिशतले काम पाउँछन्,” उनले भने ।
सरकारले के योजना अघि सारेको छ ?
नेपाल रिपब्लिक मिडिया प्रालिले सोेमबार कोभिड–१९ बाट नेपाली अर्थतन्त्रलाई पर्न सक्ने दुष्प्रभाव र त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने विषयमा आयोजना गरेको छलफलमा अर्थमन्त्री खतिवडाले सरकारले जुन–जुन व्यवसायमा समस्या देखिएको छ, त्यहाँ–त्यहाँ नै कर छुट र सहुलियत दिने तयारी गरिरहेको बताए । “सरकारले कर फिर्ता लगायत कार्यक्रम ल्याएर पनि व्यवसायीको समस्या सम्बोधन गर्नेछ । हामीकहाँ निर्यातमा सहुलियत दिने नीतिनै छ,” उनले भने, “अहिले ब्याज अनुदान समेत दिनेछौँ । बैंकको ब्याज अनुदान दिने क्षेत्र पनि तोकेका छौँ ।”
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत