भूकम्पको पाँच वर्ष : पुनर्निर्माण अझै बाँकी

Injina Panthi / शनिबार, बैशाख १३, २०७७

पुनर्निर्माणपछिकाे बारपाक, गाेरखा / तस्बिर: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

नेपालमा विनासकारी महाभूकम्प गएको पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाकाे बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट नेपालका १४ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका थिए। त्यसको १७ दिनपछि दोलखा केन्द्रविन्दु रहेको दोस्रो भूकम्पबाट थप २१ जिल्ला प्रभावित भएका थिए ।

भूकम्पमा परी करीब ९ हजार मानिसको मृत्यु भएको थियो भने करीब ७ खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । निजी आवास, विद्यालय एवम् स्वास्थ्य संस्था, सम्पदा सहित सार्वजनिक एवम् निजी सम्पत्तिको ठूलो क्षति भएको थियो।

भूकम्पबाट क्षतिग्रस्त संरचनालाई पुनर्निर्माण गर्न गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सरकारले ५ वर्षको कार्यावधि दिएको थियो। प्राधिकरणसामु अब आठ महिना बाँकी छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एपी वान टिभीसँगको अन्तरर्वातामा ‘विभिन्न प्रतिकुलताका बाबजुद नेपालले पुनर्निर्माण क्षेत्रमा प्राप्त गरेको उपलब्धि सन्तोषजनक र महत्वपूर्ण’ रहेको बताएका छन्।

तर कोरोना भाइरसका कारण उत्पन्न संकटले गर्दा पहिल्यै ढिलासुस्ती र राजनीतिक खिचातानीको शिकार भएको पुनर्निर्माण अझै लम्बिने देखिन्छ । साउथ एसिया चेकसँग कुरा गर्दै प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले कोरोना भाइरसको विश्वव्यापी महामारीले पुनर्निर्माण टुङ्ग्याउने कामलाई अनिश्चिततातर्फ धकेलेको बताए।

उनले भने, “लकडाउन सुरु भएदेखि सबै पुनर्निर्माणका काम ठप्प छन्। ठूलो सम्पदाका सामग्रीहरू ढुवानी हुन नसकेर भन्सारमा बसेका छन्। जनशक्ति परिचालन गर्ने अवस्था छैन।”

पाँच वर्ष पुगेको दिन पारेर वैशाख १२ मा रानीपोखरीको पुनर्निर्माण पूरा भएको घोषणासाथ मनाउने योजना समेत लकडाउनकै कारण सम्भव नभएको उनले बताए ।

निजी आवास पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत  निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २३ प्रतिशत घर निर्माण तथा पुनर्निर्माणको क्रममा रहेकोले समग्रमा ८८ प्रतिशत काम भएको जानकारी दिएको हो।

निजी आवास पुनर्निर्माणको हकमा भूकम्पपछि बनेका घरहरु भवन संहिता पालना गरेर भूकम्प थेग्नेगरी बनाइए तापनि नेपाली जीवनपद्धति दर्शाउने घरहरू बन्न नसककेको भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का पूर्वकार्यकारी निर्देशक आमोदमणि दीक्षितले साउथ एसिया चेकलाई बताए ।

“अधिकांश बनेका दुई कोठे र चार कोठे घरहरु सरकारको अनुदान, किस्ता र संख्यामा मात्र केन्द्रित रहे तर समाजले अपनत्व गर्न सकेन। यसक्रममा हामीले हाम्रो परम्परागत गाउँघरको मौलिकता गुमायौँ,” नेपालको पुनर्निर्माण प्रक्रियालाई नजिकबाट नियालेका उनले भने ।

क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ५ हजार ५ सय ९८ अर्थात् ७४ प्रतिशत भवन पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४सय ९२ अर्थात् २० प्रतिशत विद्यालय अझै पुनर्निर्माणको क्रममा छन्।

गोरखाको चिप्लेटीस्थित जनज्योती मावि त्यस्तै मार खेपेको एउटा विद्यालय हो। २०७५ साल फागुनदेखि मात्र पुनर्निर्माणको काम सुरु गरिएको उक्त विद्यालय अझै हस्तान्तरण गरिएको छैन।

प्रधानाध्यापक नारायण खत्रीका अनुसार प्राधिकरण र जापानी सहयोग नियोग जाइकाले गत पौष महिनामा हस्तान्तरण गर्ने बताएपनि त्यसबीचमा पहिरो गएर नवर्निर्मित विद्यालयको पर्खाल भत्केपछि ढिलाइ भएको हो। “अस्थायी टहरा र प्रिफ्याबको भवनमा विद्यार्थीहरुलाई हावा चल्ने र वर्षातको समयमा पानी चुहिँदा दैनिक अध्ययनमा अनेकथरी समस्या छ,” उनले साउथ एसिया चेकलाई बताए ।

सिन्धुपाल्चाेकस्थित थाक्ले एकीकृत बस्ती / तस्बिर: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

त्यस्तै सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित श्रीकृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले नवनिर्मित भवनमा अहिले नै समस्याहरू देखिन थालेको बताए। भूकम्पले ध्वस्त पारेपछि उक्त विद्यालयले लामो समय टिनका जस्ताले बारेको संरचनामा कक्षाहरू सञ्चालन गरेको थियो।

“हस्तान्तरण गरेको एक वर्षमा भित्ता चर्किन थालेको, प्लास्टर गरेका भित्ताको सिमेन्ट निस्कने र पानी रसाएको देखिन थालेको छ,” उनले भने ।

सम्पदाको पुनर्निर्माण

सम्पदाको पुनर्निर्माण तर्फ ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको विवरण छ। १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन्।

काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ अर्थात् ५९ प्रतिशत निर्माण सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात् ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन्।

सम्पदा निर्माण ढिलो हुनुमा त्यसको निर्माण प्रक्रिया नै जटिल हुनु कारक रहेको प्राधिकरण प्रमुख ज्ञवालीले बताएका छन्।

उनले भने: “त्यसको परम्परागत शैली, प्रयोग गरिने सामग्री, विधि, प्रक्रिया, प्रविधिमा मौलिकता कायम गर्नुपर्ने हुन्छ। कतिपय सम्पदाको एउटै प्रकृति छैन। कुनै एउटा मन्दिर एउटा काल खण्डमा बनेको छ भने अर्को सम्पदा अर्को शैली र कालको छ। ऐतिहासिकता र मौलिकता कायम गर्नु चुनौती हो।”

निर्माणाधीन धरहरा / तस्बिर: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

काठमाडौँको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले भूकम्पपछिको पुनर्निर्माणमा भत्किएका पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा जोगाउने कुरामा नेपाल सरकार संवेदनशील नभएको बताएका छन्।

“हामीले २०७२ को भूकम्प गए पश्चात सरकारलाई आधुनिक कंक्रिटको संरचना होइन, मौलिकता र इतिहास बचाउनका लागि दबाब दियौँ। अहिले काठमाडौंभित्रका सम्पदाहरु पुरानै शैलीमा बनेका छन्,” उनले साउथ एसिया चेकलाई भने।

“सम्पदाप्रेमीहरुले निरन्तर दबाब दिइरहनुपर्ने अवस्था छ। नत्र सरकारले लापरवाही गरेर सडक बनाउने ठेकदारलाई पुरातात्विक सम्पदा पुनर्निर्माणको जिम्मा दिने अवस्था छ।”

स्वास्थ्य संस्थाको पुनर्निर्माण

पुनर्निर्माण प्राधिकरणले बैशाख १० गते निकालेको विज्ञप्ति अनुसार कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १ सय ४५ वटा पुनर्निर्माणको चरणमा छन्।

सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत काम भएको प्राधिकरणको विवरण छ।

सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माण

सरकारी विवरण अनुसार कुल ४ सय १५ क्षतिग्रस्त सरकारी भवनमध्ये ३ सय ४९ वटा अर्थात् ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भएको हो। ४९ वटा पुनर्निर्माणको चरणमा छन्। पुनर्निर्माण अन्तर्गत सुरक्षा निकायका १ सय ९४ वटा संरचनाको पुनर्निर्माण भइसकेको र २२ वटा पुनर्निर्माणको चरणमा छन्।

काष्ठमण्डपकाे पुनर्निर्माण

एकीकृत वस्तीको पुनर्निर्माण

प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएकोमा ९ वटा एकीकृत बस्तीको मात्र अहिलेसम्म पुनर्निर्माण पूरा भएको छ।

अन्य २७ वस्तीको विस्तृत प्रतियोजना प्रतिवेदन (डीपिआर) स्वीकृत भई निर्माणाधीन छन्।

त्यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा रहेको बताइएको छ।  

भूगर्भशास्त्री समेत रहेका आमोदमणि दीक्षितले एकीकृत वस्तीको पुनर्निर्माणमा ‘घर बनेको, तर समाज नबनेको’ बताए।

अरु देशको तुलनामा कस्तो छ त नेपालको पुनर्निर्माण ? नेपालले पुनर्निर्माणमा केही राम्रा पक्षको रूपमा भारतको गुजरात र पाकिस्तानबाट सिक्दै र बाहिरी संसारलाई सिकाउन सफल भएको दीक्षित बताउँछन्।

“गुजरातबाट हामीले विशेषगरी घर निर्माणमा प्रविधिको प्रयोग गर्न सिक्यौँ। गाउँघरमा स्थानीय स्रोत साधन ढुङ्गा, माटो र स्थानीय सिकर्मी-डकर्मीको ज्ञानको अधारमा निर्माण गरिन्थ्यो तर हामीले भूकम्पपछिको पुनर्निर्माणमा वैज्ञानिक प्रविधिको प्रयोग गर्‍यौँ,” उनले भने ।

त्यसैगरी पाकिस्तानबाट नेपालले सिकेका कुराबारे दीक्षितले थपे: “निजी आवास पुनर्निर्माणमा घरमुलीको अपनत्व हुनेगरी पुनर्निर्माण गर्ने, आफ्नो मान्छेलाई भन्दा वास्तविक पीडितलाई अनुदान दिने र पुनर्निर्माण गर्नपर्ने संरचनालाई वर्गिकरण गरेर रेट्रोफिटिङ्, पुनर्निर्माण गर्नुपर्ने, सामान्य मर्मत छुट्याउनेजस्ता कुरा पाकिस्तानबाट अनुसरण गरियो ।”

नेपालले सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा मौलिकता बचाउन गरेका कुरा संसारका लागि सिकाइ हुने एनसेटका दीक्षित बताउँछन्।

प्राधिकरण प्रमुख ज्ञवालीले भने पुनर्निर्माण प्राधिकरणसामु अझै वृत्तीय स्रोतकाे अभाव, समयावधिकाे कमीका साथै जनशक्ति पुन: व्यवस्थापन गर्नुपर्ने चुनौती बाँकी रहेको बताए।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री