कोभिड-१९ खोपको जारी परीक्षणबारे जान्नैपर्ने तथ्य

South Asia Check / शुक्रबार, आषाढ १९, २०७७

प्रतीकात्मक तस्बिर                                                                                                 स्रोत : अनस्प्ल्यास

दीपक अधिकारी/साउथ एसिया चेक

कोभिड-१९ विरुद्ध खोप एकमात्र अचुक अस्त्र हुनसक्ने भएकाले यस महामारीबाट पार पाउन खोपको विकासमा यतिखेर विश्वको ध्यान केन्द्रित छ । विभिन्न मुलुक र तिनका प्राज्ञिक अनुसन्धान संस्था अनि औषधि निर्माता कम्पनीले करिब १०० भन्दा बढी खोपमाथि अनुसन्धान गरिरहेका छन् । ती खोपमाथि विभिन्न चरणका परीक्षण भइरहेका छन् ।

संसारभरिबाट वैज्ञानिकहरु खोपको विकासमा अहोरात्र खटेकाले त्यसले आशाको सञ्चार गरेको छ । एक महिना अघिसम्म ५ वटा खोपको ‘क्लिनिकल इभ्यालुएसन’  भएकोमा हाल त्यो संख्या बढेर १६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सामान्य अवस्थामा कम्तिमा ५ देखि १० वर्षसम्म लाग्ने खोपको विकास प्रक्रियालाई छोट्याएर १८ महिनासम्ममा उपलब्ध गराउने महत्वाकांक्षी योजना मुताविक काम भइरहेको छ । कतिपय कम्पनीले गरिरहेको परीक्षणको नतिजा आगामी नोभेम्बरसम्ममा आइसक्ने बताइएको छ । तर परीक्षण गरिएकामध्ये ६ प्रतिशतमात्र खोप सफल हुने र तिनको उत्पादन र विक्री वितरण अनि विश्वको ठूलो जनसंख्यालाई उपलब्ध गराउनुपर्ने अवस्थाका कारण यो प्रक्रिया निकै चुनौतीपुर्ण रहेको छ ।

खोप माथिको परीक्षणको पछिल्लो अवस्था के छ ?

विश्व स्वास्थ्य संगठनले जुन २९ तारिखमा सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार १६ वटा खोप क्लिनिकल परीक्षणका लागि तयार छन् । त्यस्तै १३२ वटा खोप प्रि-क्लिनिकल परीक्षणमा रहेको जनाइएको छ । अमेरिका, बेलायत, चीन र भारतमा परीक्षण भइरहेका खोप यस प्रक्रियाको अग्रपंक्तिमा रहेको जनाइएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्विडिस-बेलायती कम्पनी आस्ट्राजेनेका मिलेर गरेको परीक्षणसम्बन्धी तथ्यांक जुलाई महिनाको अन्त्यसम्ममा आउने जनाइएको छ । आगामी अक्टोबरसम्ममा उक्त परीक्षणबाट केही आपतकालीन खोपहरु उपलब्ध हुने न्यु योर्क टाइम्सको एक रिपोर्टमा जनाइएको छ । अमेरिकाकै फिजर नामक कम्पनीले जर्मनीको बायोएनटेकसँग मिलेर गरेको खोपमाथिको पछिल्लो परीक्षणले केही राम्रा नतिजा दिएको एमआईटी टेक्नोलोजी रिभ्युले जनाएको छ । अमेरिकी कम्पनी मोडेर्नाले कोभिड-१९ विरुद्ध खोपको दोस्रो चरणको परीक्षण गरिरहेको छ भने खोपको उत्पादनका लागि क्याट्लेन नामक कम्पनीसँग सहकार्य थालेको जनाइएको छ ।

चारवटा चिनिया कम्पनी खोपको परीक्षणको अग्रमोर्चामा छन् । एक साताअघि बेइजिङ इन्स्टीच्युट् अफ बायोटेक र क्यान्साइनो कम्पनीले खोपको परीक्षण चिनिया सेनामा गरेको तर त्यसको परिणाम आउन बाँकी रहेको जनाइएको छ । यो कम्पनीले क्यानडाली सरकारसँग पनि सहकार्य गरिरहेको छ । अर्का दुई चिनिया कम्पनी सिनोफार्म र सिनोभ्याकले पनि खोप उत्पादनका लागि कारखाना निर्माण गर्न थालेको समाचारमा जनाइएको छ ।

भारतमा मात्रै आधा दर्जन कम्पनीले खोपको विकास गरिरहेका छन् । भारतीय कम्पनी भारत बायोटेकले मान्छेमाथि परीक्षण शुरु गरिसकेको छ । अर्को भारतीय कम्पनी डाइजस क्याडिलाले पनि मान्छे माथि परीक्षण गर्ने अनुमति पाइसकेको भारतीय अनलाइन स्क्रलले जनाएको छ ।

त्यसैगरी विश्वमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टीच्युट (जसले वर्षेनि एक करोड ५० लाख खोप उत्पादन गर्छ) ले आस्ट्राजेनेकासँग मिलेर ४० करोड डोज खोप भारतका लागि उत्पादन गर्ने जनाएको छ ।

जर्मनीको क्योरभ्याक नामक कम्पनीले पनि मान्छेमाथि परीक्षण शुरु गरेको डोएच वेल नामक अनलाइनले जनाएको छ । एक-दुई महिनामै यी खोपहरु प्रभावकारी हुने/नहुने पत्ता लाग्ने विज्ञहरुले बताएका छन् ।

खोपका लागि के कस्तो प्रतिस्पर्धा भइरहेको छ ?

खोपको विकासमा विभिन्न देश र अनुसन्धान संस्थाबीच प्रतिस्पर्धा चर्किएको छ । साइन्स पत्रिकाको हालैको एक आलेखको शीर्षक छ, ‘द लाइन् इज् फर्मिङ् फर कोभिड नाइन्टीन् भ्याक्सिन् : हु सुड् बी एट् द फ्रन्ट्?’ उक्त लेखका लेखक जोन कोहेनले खोप लगाउनमा कसलाई प्राथमिकता दिने भन्ने सवाल पेचिलो बन्दैगएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन, गेट्स फाउण्डेसन, गाभी भ्याक्सिन अलाएन्स र कोअलिसन फर इपिडेमिक प्रिप्यर्डनेस इनोभेसन (सेपी) जस्ता संस्थाले विकासशील मुलुकलाई पनि खोप उपलब्ध गराइनुपर्ने आवाज उठाएपनि त्यसका लागि प्रतिस्पर्धा शुरु भइसकेको छ । समाचारहरुमा जनाइए अनुसार ब्राजिल सरकारले अक्सफोर्ड विश्वविद्यालय र आस्ट्रोजेनेकासँग खोप किन्ने सहमति गरिसकेको छ । त्यसैगरी अमेरिकाले पनि करिब ३० करोड डोजका लागि १ अर्ब २० करोड डलर छुट्याएको बताइएको छ ।

यसरी आफ्नो देशका लागि खोप सुनिश्चित गर्ने होडलाई ‘भ्याक्सिन नेसनलिजम’ भनी व्याख्या गरिएको छ । ‘भ्याक्सिन नेसनलिजम’ खोप माथिको न्यायसंगत पहुँच विरुद्ध भएको द कन्भर्सेसनको एक आलेखमा जनाइएको छ । गत मार्च महिनामै अमेरिकी सरकारका अधिकारीहरुले जर्मन कम्पनी क्योरभ्याकका प्रतिनिधिहरुसँग खोपको विशेषाधिकारबारे प्रश्न गरेको विवरणहरु प्रकाशित भएका थिए । भारतको सेरम इन्स्टिच्युटले पनि आफ्नो खोप सबैभन्दा पहिला भारतमा वितरण गरिने जनाएको छ ।

नेपालजस्ताे देशले खोपको सुनिश्चितता कसरी गर्नसक्छ ?

विश्व स्वास्थ्य संगठन, गाभी भ्याक्सिन अलाएन्सलगायतका संस्थाले गत साता कोभिड-१९ विरुद्धको खोपको २ अर्ब डोज जोखिममा रहेका समुदायका लागि किन्ने योजना सार्वजनिक गरेका थिए । यसले नेपालजस्ता विकासोन्मुख र साधन स्रोतको कमी भएका मुलुकलाई राहत हुने आशा पलाएको छ ।

तर सेपीका सिइओ रिचर्ड ह्याचेटले विश्वभरि नै खोपको आपुर्ति गर्नु ठूलो चुनौती भएको विकाससम्बन्धी समाचार र विश्लेषण प्रकाशित गर्ने अनलाइन डेभेक्सलाई बताएका छन् । उनले सन् २००९ को स्वाइन फ्लु महामारीताकाझै अहिले पनि ‘भ्याक्सिन नेसनलिजम’ का कारण धनी राष्ट्रले खोपमा आधिपत्य जमाउनसक्ने बताएका छन् ।

नेपालका एक सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले नेपालजस्ता साधन स्रोतको कमी भएका देशले बेलैमा आफ्ना नागरिकका लागि खोप सुनिश्चित गर्न पहल गर्नुपर्ने साउथ एसिया चेकलाई बताएका छन् । “हामीले अहिलेदेखि नै यसका लागि पहल गर्नुपर्छ । एउटा अध्ययन गर्ने टोली बनाएर हामीलाई के कति चाहिन्छ बुझेर स्टक सुरक्षित गर्नु नै उपयुक्त हुन्छ,” उनले भने । नेपालमा फैलिएको कोरोना भाइरसको स्ट्रेनका लागि कुन खोप प्रभावकारी हुन्छ भन्ने पनि यकिन गर्नुपर्ने उनले बताए । “अहिले हामीकहाँ त्यति डरलाग्दो समस्या नदेखिए पनि खोपका लागि तयारी गर्नुपर्छ,” उनले भने । त्यसका लागि स्वास्थ्य मन्त्रालयको खोप महाशाखाले भुमिका खेल्नुपर्नेमा उनले जाेड दिए । नेपालका दुई छिमेकी भारत र चीनमा परीक्षण भइरहेका खोप नेपालका लागि उपयुक्त हुनसक्ने उनले बताए ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री