कोभिड–१९ परीक्षण सामग्री सन् २०१७ मै बनेको थियो ?

South Asia Check / बिहीबार, आश्विन १, २०७७

दीपक अधिकारी/साउथ एसिया चेक

सामाजिक सञ्जालमा केही दिनयता कोभिड–१९ परीक्षण गर्ने उपकरण सन् २०१७ र २०१८ मै विभिन्न देशमा निर्यात गरिएको र त्यससम्बन्धी विवरण विश्व बैंकको वेबसाइटमा राखिएको भन्दै लिङ्क र स्क्रिनसट शेयर गरिएको छ ।

फेसबुकमा ४० हजारभन्दा बढी फलोअर्स भएका पूर्व माओवादी नेता भरत दाहालले भदौ २७ गते यस्तो पोस्ट गरेका थिए-

“दुई वर्षअघिदेखि नेपालमा कोभिड–१९ का नाममा माफिया धन्दाको प्रमाण । एमसिसि (मिलेनियम च्यालेन्ज कर्पोरेसन) र कोरोना आतंक एउटै हो । अब डाक्टरहरु र नेताको अनुहार हेर्नुहोस् ।
विश्व बैंकको यो वेबसाइट गहिरिएर हेर्नुहोस् । आजभन्दा दुई वर्ष अगाडि नेपालबाट क्यानडा, इण्डिया, सिङ्गापुर र थाइल्याण्डमा कोभिड–१९ को उपचारका लागि भनेर सामानहरु निर्यात भएको उल्लेख छ । जबकि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामाकरण ६ महिना अगाडि मात्र गरेको नाटक मञ्चन गरिएको थियो ।”

उनको स्टाटसमा १३० वटा प्रतिक्रिया जनाइएको छ भने २७४ पटक शेयर गरिएको छ । त्यसमा ५४२ जनाले लाइक गरेका छन् । त्यसै दिन उनले नेपालीमा “सन् २०२५ सम्म कोरोना आतंक फैलाएर संसार ध्वस्त पार्ने माफिया योजना” र अंग्रेजीमा “वल्ड ब्यांक लिस्ट्स् कोभिड नाइन्टिन् प्रोग्राम इण्डिङ इन् मार्च ट्वेन्टी ट्वेन्टी फाइभ” शीर्षकको विश्व बैंकको दस्तावेजको स्क्रिनसट सहित स्टाटस शेयर गरेका छन् जसमा ३३ प्रतिक्रिया आउनुका साथै ११९ पटक शेयर गरिएको छ ।

काेभिड-१९ परीक्षण सामग्रीसम्बन्धी यही दाबी उनले हिमाल अनलाइन टिभी नामक युट्युब च्यानलसँगको अन्तरवार्तामा पनि दाेहाेर्याएका छन् । (यसअघि पनि यस च्यानलले लिएका अन्तरवार्तामा गरिएका भ्रामक दाबीमाथि हामीले तथ्य जाँच गरिसकेका छौँ । लिङ्क यहाँयहाँ) त्यसैगरी १४ हजार फलोवर्स भएका फेसबुक प्रयोगकर्ता अर्जुन खड्काले पनि विश्व बैंकले कोभिड–१९ परीक्षण गर्ने उपकरणसम्बन्धी विवरण वेबसाइटबाट हटाएको भन्दै भदौ २२ गते स्टाटस लेखेका छन् ।

तथ्य जाँच

अमेरिकाकास्थित दक्षिणपन्थी रेडियो प्रस्तोता तथा षड्यन्त्र सिद्धान्तकार एलेक्स जोन्सले सञ्चालन गरेको इन्फो वार्स नामक वेबसाइटमा भदौ २२ गते दाहालले उल्लेख गरेको सामग्री प्रकाशित भएको थियो । यो सामग्रीलाई कोरोनाभाइरसबारे भ्रामक र षड्यन्त्र सिद्धान्त फैलाउनेहरुले प्रयोग गरेको र सामाजिक सञ्जालमार्फत व्यापक बनाएको पाइएको छ ।

हामीले तथ्य जाँच गर्दा यो विवरण विश्व बैंकले युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट, विश्व ब्यापार संगठनलगायतसँग मिलेर बनाएको वल्ड इन्टेग्रेटेड ट्रेड सोलुसन्स (वीट्स) अन्तर्गत प्रकाशित गरेको पाइएको छ । उक्त डाटाबेसमा विभिन्न देशले निर्यात गरेको सामग्रीको विवरण समावेश गरिएको छ ।

फेसबुक र षडयन्त्र सिद्धान्तमा विश्वास गर्ने वेबसाइटमार्फत यो दाबी फैलिएपछि विश्व बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै प्रष्ट्याएको छ । विज्ञप्तिमा कोरोनाभाइरस महामारी फैलिनुअघि नै वीट्सको डाटाबेसमा समावेश गरिएका स्वास्थ्य सामग्रीलाई प्राविधिक लेबलसहित वर्गीकरण गरिएको जनाइएको छ । “सन् २०२० को जनवरीमा कोभिड–१९ परीक्षण सामग्रीको विकास गर्दा भन्सारका कर्मचारीहरुले यसअघि स्थापित प्रक्रिया बमोजिम तिनको वर्गीकरण गरेको थिए,” विश्व बैंकको विज्ञप्तिमा भनिएको छ । सन् २०२० को मार्चमा कोभिड–१९ को परीक्षण र उपचारमा त्यस्ता स्वास्थ्य सामग्रीको महत्व बढेकोले विश्व स्वास्थ्य संगठन र वल्ड कस्टम्स अर्गनाइजेनस मिलेर त्यसलाई पछ्याउन सजिलो होस् भन्ने उद्देश्यका साथ उक्त सूची तयार पारिएको विज्ञप्तिमा उल्लेख छ । हार्मोनाइज्ड सिस्टम नामक वल्ड कस्टम्स अर्गनाइजेसनले ल्याएको एक वर्गीकरण विधिको प्रयोग गर्ने क्रममा त्यसरी भ्रम फैलिन गएको विश्व बैंकको दाबी छ ।

यसबारेमा भ्रम फैलिएपछि सन् २०२० भन्दा अघि कोभिड–१९ परीक्षण सामग्री नभएको झल्किने गरी विश्व बैंकले वेबसाइटमा त्यसलाई सच्याएको छ । वीट्सको विवरणमा अहिले ‘कोभिड–१९ टेस्ट किट’ को साटो ‘मेडिकल टेस्ट किट’ लेखिएकाे छ ।

दाहालले नेपालबाट समेत कोभिड–१९ परीक्षण सामग्री निर्यात भएको दाबी गरेपनि उक्त डाटाबेसमा त्यस्तो विवरण पाइएन । यस भ्रामक दाबीको तथ्य जाँच अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी र अमेरिकी तथ्य जाँचकी पोलिटीफ्याक्टले समेत गरेका छन् ।

निचाेडमा दाहाल, खड्कालगायतले सामाजिक सञ्जालमा गरेकाे उक्त दाबी भ्रामक ठहर्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री