समाचारमा नाम नखुलेको स्रोतको प्रयोग (अक्टोबर १ – डिसेम्बर ३१,२०२०)
South Asia Check / शुक्रबार, पौष १७, २०७७
सन् २०२० को अक्टोबर १ देखि डिसेम्बर ३१ सम्म काठमाडौँबाट प्रकाशित हुने पाँचवटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामिलामा द काठमाण्डु पोस्ट् सबैभन्दा अगाडि रह्यो । उसले २२७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।
साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पृष्ठमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ । तर कोभिड- १९ बाट सिर्जित परिस्थितिका कारण रिपब्लिकाले छापा संस्करण र इपेपर बन्द गरेको छ । उक्त दैनिक पूरा अवधि प्रकाशित नभएकाले हामीले त्यसलाई समेटेका छैनौँ।
द काठमाण्डु पोस्ट्पछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमश: नागरिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट् र हिमालयन टाइम्स छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ४३ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ।
यस अवधिमा ५ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ७६२ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।
सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएका थिए । पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार राजनीति सम्बन्धी थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (४८१ ठाउँमा) प्रयोग गरिएको थियो । नागरिक र द काठमाण्डु पोस्ट्मा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: १६९ र १३० ठाउँमा) उद्धृत गरिएको थियो ।
राजनीतिपछि स्वास्थ्य सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (९० ठाउँमा) प्रयोग गरिएको थियो ।
समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’
स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यकता नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ ।
उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘डिन बर्खास्तीमा रोकियो वार्ता’ शीर्षकको समाचारमा भनिएको छ: “सरकारी टोलीले बिहिबार साँझ मात्रै वार्ता गर्ने भने पनि दबाब दिएर बिहान १०:४० बजे नै सुरु गरेको डा केसी पक्षका एक सदस्यले बताए ।”
त्यस्तै नेपाली भाषामा प्रकाशित हुने अर्को दैनिक पत्रिकामा प्रकाशित ‘बलात्कारमा मिलापत्र गराए तीन वर्ष जेल’ शीर्षक समाचारमा भनिएको छ: “हामीले अध्यादेश प्रक्रिया अगाडि बढाएका छौँ । यौनजन्य हिंसा विरुद्धको केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश सिफारिस गर्ने निर्णय भएको छ, एक मन्त्रीले भने, ‘यौन हिंसासँग जोडिएका विषयमा मेलमिलाप गर्न नपाइने गरी अध्यादेश ल्याउन लागिएको हो ।”
नेपाली भाषामा प्रकाशित अर्को दैनिक पत्रिकामा प्रकाशित ‘गाडेको ५ महिनामा दाहसंस्कार’ शीर्षकको समाचारमा भनिएको छ: “खनालको आत्मशान्तिका लागि अन्तिम संस्कार गरिएको परिवार स्रोतले जनाएको छ ।”
नेपाली भाषामा प्रकाशित अर्को दैनिक पत्रिकामा प्रकाशित ‘समुदायमा संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण’ शीर्षकको समाचारमा भनिएको छ: “लक्षण भएको तर एन्टिजेनमा नेगेटिभ देखियो भने पनि उनीहरुको पीसीआर गर्न नमुना लिने गरेका छौँ,” फिल्डमा खटिएका एक प्राविधिकले भने ।
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘ट्राभलिङ क्यान इन्क्रिज द रिस्क अफ कोरोना भाइरस ट्रान्स्मीसन’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “यात्राले कोरोनाभाइरस प्रसारणको जोखिम बढाउँछ,” विश्व स्वास्थ्य संगठनका एक बरिष्ठ अधिकारीले बताए ।
माथिका समाचारहरुमा स्रोतको परिचय खुलाउँदा उनीहरुको सुरक्षामा आँच आउने देखिँदैन ।
यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत