समाचारमा नाम नखुलेको स्रोतको प्रयोग (जुलाई १ देखि सेप्टेम्बर ३०,२०२१)
South Asia Check / सोमबार, आश्विन १८, २०७८
सन् २०२१ को जुलाई १ देखि सेप्टेम्बर ३० सम्म काठमाडौंबाट प्रकाशित हुने पाँचवटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामिलामा नागरिक सबैभन्दा अगाडि रह्यो । उसले २२३ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।
साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पृष्ठमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ । तर कोभिड- १९ बाट सिर्जित परिस्थितिका कारण रिपब्लिकाले छापा संस्करण र इपेपर बन्द गरेको छ । उक्त दैनिक पूरा अवधि प्रकाशित नभएकाले हामीले त्यसलाई समेटेका छैनौँ।
नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमश: कान्तिपुर, द काठमाण्डु पोस्ट्, अन्नपूर्ण पोस्ट् र हिमालयन टाइम्स छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले १४ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ।
यस अवधिमा ५ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ६१९ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।
सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएका थिए । पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार राजनीति सम्बन्धी थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (३६७ ठाउँमा) प्रयोग गरिएको थियो । नागरिक र कान्तिपुरमा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: १९१ र ८६ ठाउँमा) उद्धृत गरिएको थियो ।
राजनीतिपछि कुटनीति सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (५६ ठाउँमा) प्रयोग गरिएको थियो ।
समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’
स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यकता नभएको ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।
उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘वैदेशिक रोजगारिमा खोप मुख्य सर्त’ शीर्षकको समाचारमा भनिएको छ: ‘नेपालले खोप उपलब्ध नगराए सम्म यूएईले कामदार लिने सम्भावना देखिदैन’ त्यहाँ कार्यरत एक नेपाली व्यवसायीले भने, ‘यूएईको सर्त नै खोप हो ।’
त्यस्तै नेपाली भाषामा प्रकाशित हुने अर्को दैनिक पत्रिकामा प्रकाशित ‘अध्यक्षबाट हटाइए ठाकुर’ शीर्षक समाचारमा भनिएको छ: ‘जसपाको साधारण सदस्य रहेसम्म ठाकुर, महतोलगायत उनीहरूनिकट सांसदहरूको सांसद पद गुम्दैन,’ आयोग स्रोतले भन्यो।
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘अ न्यू ट्रेन लास्ट यर वाज् वेलकम्ड वीथ मच फ्यानफेयर, इट् नेभर र्यान’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “सरकारले कर्मचारीहरुलाई करारमा नियुक्ति गर्न सक्छ तर छनोट प्रक्रियामा लोक सेवा आयोगको प्रतिनिधित्व हुनुपर्छ। स्थायी कर्मचारीको हकमा, आयोगले नियुक्ति गर्ने हो” आयोगका एक कर्मचारीले भने।
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘एट कोभिड-१९ कल सेन्टर, मोस्ट अफ द क्वेरिज अफ लेट् आर एबाउट भ्याक्सिन’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “अहिले नेपालमा कोभिड खोप आइरहेको अवस्थामा मानिसहरु खोप कहाँ र कहिलेदेखि पाइन्छ र कुन कम्पनीको खोप लगाउन पाइन्छ भनेर सोध्ने गरेको” एक कल अपरेटरले बताए।
माथिका समाचारहरुमा स्रोतको परिचय खुलाउँदा उनीहरुको सुरक्षामा आँच आउने देखिँदैन।यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत