समाचारमा नाम नखुलेका स्रोतको प्रयोग (अप्रिल १ – जून ३०,२०२०)
South Asia Check / बुधबार, आषाढ २४, २०७७
सन् २०२० को अप्रिल १ देखि जुन ३० सम्म काठमाडौंबाट प्रकाशित हुने पाँचवटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामिलामा कान्तिपुर सबैभन्दा अगाडी रह्यो । उसले २२४ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।
साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पृष्ठमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ । तर बन्दाबन्दीका कारण रिपब्लिकाले छापा संस्करण र इपेपर बन्द गरेको छ । उक्त दैनिक पूरा अवधी प्रकाशित नभएकाले हामीले त्यसलाई समेटेका छैनौँ।
कान्तिपुरपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमश: नागरिक, द काठमाण्डु पोस्ट्, अन्नपूर्ण पोस्ट् र हिमालयन टाइम्स छन् । यस अविधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ६३ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ।
यस अवधिमा ५ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ७३१ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।
सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएका थिए । पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार राजनीति सम्बन्धी थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (२९५ ठाउँमा) उद्धृत गरिएको थियो । कान्तिपुर र द काठमाण्डु पोष्टमा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: ८७ र ७९ ठाउँमा) उद्धृत गरिएको थियो ।
राजनीतिपछि स्वास्थ्य सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (१५८ ठाउँमा) उद्धृत गरिएको थियो ।
समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरको पत्रकार आचारसहिंता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’
स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यकता नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ ।
उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘२९ सय सैनिक क्वारेन्टाइनमा’ शीर्षकको समाचारमा भनिएको छ: “कोरोना संक्रमण नदेखिएपछि उनको अवस्था सामान्य रहेको सैनिक स्रोतले जनाएको छ ।”
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘थ्री इन्डियन नेशनल्स इन बीरगंज टेस्ट पोजिटिभ फर कोभिड-नाइन्टिन’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “एकजना प्रहरी अधिकारीले ती व्यक्तिको यात्रा विवरण खोज्ने काम भइरहेको बताए।”
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘वीथ मेनी टेस्टिङ, मोर केसेज अफ कोभिड- नाइन्टीन बिगिन टू एमर्ज’ शीर्षकको अर्को समाचारमा भनिएको : “आइसोलेसन केन्द्रहरूमा लक्षण भएका शङ्कास्पद व्यक्तिहरूलाई पठाउने र विदेशबाट फर्कनेहरूलाई क्वारन्टिनमा राख्ने एउटा नियमित प्रक्रिया हो,” स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भने, “हामीले आरडिटी (द्रूत परीक्षण कीट) र पीसीआर (पोलिमरेज चेन रिएक्सन अर्थात् प्रयोगशालामा गरिने एकप्रकारको नमूना जाँच) परीक्षणपछि पनि विभिन्न परीक्षणहरू गर्दा त्यही नतिजा देखियो। त्यसपछि मात्र हामीले पोजिटिभ र नेगेटिभ पुष्टि गर्छौँ ।”
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘अपार्टमेन्ट बिल्डिङ सील्ड आफ्टर पोजिटीभ र्यापिड टेस्ट्स’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “सनसीटी अपार्टमेन्टका एक बासिन्दाले बताए अनुसार आज त्यहाँका तीन जनामा कोभिड-१९ को सङ्क्रमण देखिएपछि दुई गाडीमा प्रहरीहरू आएका थिए।”
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने अर्को एउटा दैनिक पत्रिकामा प्रकाशित ‘थ्री टेस्ट पोजिटिभ फर एन्टिबडी’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “द्रूत परीक्षण कीट (आरडिटी) मार्फत् जाँच गरिँदा उनीहरूमा सङ्क्रमण देखिएको हो। उनीहरूको नमूनाको पीसीआर (पोलिमरेज चेन रिएक्सन अर्थात् प्रयोगशालामा गरिने एकप्रकारको नमूना जाँच) विधिबाटसमेत कोभिड-१९ भए/नभएको जाँच गरिनेछ,” आज दिउँसोदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको भन्दै धुलिखेल अस्पतालका एकजना डाक्टरले बताए।
एक नेपाली भाषाको दैनिकमा ‘म्यानमार र यूएईले आफ्नै खर्चमा नेपालीहरू फिर्ता गर्दै’ शीर्षकको समाचारमा लेखिएको छ: “म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता ल्याउन लागेको परराष्ट्र अधिकारीले जनाए।”
माथिका समाचारहरुमा स्रोतको परिचय खुलाउँदा उनीहरुको सुरक्षामा आँच आउने देखिँदैन।
यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत