कोभिड-१९ सँग जुझ्न के नेपालमा भइरहेका प्रयास पर्याप्त छन् ?

South Asia Check / शुक्रबार, साउन २३, २०७७

स्रोत:साउथ एसिया चेक

इन्जिना पन्थी/साउथ एसिया चेक

सरकारले गत साउन ६ गते चार महिना लामो बन्दाबन्दीको अन्त्य गर्यो। बन्दाबन्दी अन्त्यसँगै फेरि कोभिड-१९ संक्रमितको संख्यामा वृद्धि भएको विवरणहरू आउन थालेका छन्। बन्दाबन्दी अन्त्यपछि सबैभन्दा धेरै साउन १९ गते ४१८ जना संक्रमित भएका थिए भने साउन २२ गते ५ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयको ‌औपचारिक आँकडा अनुसार भेन्टिलेटरमा रहेका संक्रमितको संख्या साउन १६ गते २४ थियो भने साउन २२ गतेसम्म सघन उपचार कक्ष (आइसीयू) मा भएका कोभिड-१९ का संक्रमितको संख्या ६६ पुगेको छ।

अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित राज्यका नेतृत्वदायी निकायमा काम गर्ने कर्मचारी एवम् नेताहरुलाई समेत कोभिड-१९ को संक्रमण देखिन थालेको छ। तिनैमध्ये प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि भएको हो। यसअघि संघीय संसदका सदस्य प्रदीप यादव र वीरगंजका मेयर विजय सरावगीलाई कोभिड-१९ बाट संक्रमण पुष्टि भएको थियो।

संक्रमितको संख्या बढ्नुको कारण के हो ?

चार महिना लामो बन्दाबन्दीपछि पनि कोभिड-१९ को संक्रमण नरोकिनुमा सरकारको तयारी र जनताको हेलचेक्रयाइँ कारक भएको विज्ञहरु बताउँछन्। जनरल प्राक्टिस एवम् इमरजेन्सी मेडिसिन विज्ञ डा. पुष्पमणि खरालले संक्रमित बढ्नुको मुख्य कारण विदेशबाट आउने मानिसहरुलाई सरकारले निगरानी गर्न नसक्नु, अव्यवस्थित  क्वारेन्टाइन, अपर्याप्त परीक्षण, सम्पर्क व्यक्ति पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गर्ने काम हुन नसक्नु बताएका छन्।

उनले भने, “जनताले पनि कोभिड-१९ बाट सजग नभई भीडभाड गर्ने, मास्क नलगाउने, लगाएपनि चिउँडोमा लगाउने, यति नै बेला सामाजिक आन्दोलन गरेकाले यो फैलिन गयो।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोभिड-१९ को हालसम्म कुनै उपचार नभएकोले सरकारले कदम चालेपनि जनता सचेत नभएसम्म परीक्षणको दायरा बढाएर मात्र रोकथाम नहुने साउथ एसिया चेकलाई बताए। तर नेपालमा सामान्य लक्षण भएका व्यक्तिहरूलाई आइसियू र भेन्टिलेन्टर नचाहिने हुँदा बिरामीको संख्या बढी भएकाले अस्पतालले थेग्न सक्दैनन् भन्नु गलत रहेको उनले बताए। उनले थपे, “जनताले मास्क लगाइदिने र सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने हो भने कोभिड-१९ नियन्त्रण हुनसक्छ। तर सरकारलाई मात्र आरोप लगाएर हुँदैन।”

स्रोत: फ्रीपिक

सरकारले के गरिरहेको छ ?                                            

साउन २० गते प्रधानमन्त्री केपी शर्मा ‌ओलीले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि जनस्वास्थ्य विज्ञ तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका थिए। विज्ञहरुले कोभिड-१९ महामारी नियन्त्रणका लागि कर्फ्यु लगाउने, कडा बन्दाबन्दी र स्मार्ट  बन्दाबन्दी अपनाउनेजस्ता  सल्लाह दिएका थिए।

सरकारका प्रवक्ता रहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा साउन २२ गते  ‘यसअघिजस्तो पूर्ण स्वरूपको बन्दाबन्दी नहुने’ बताएका छन्। गृह मन्त्रालयले साउन २१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को रोकथाम र नियन्त्रणको लागि नियमहरु पालना गर्न विभिन्न निर्देशनहरू दिएको छ।

गृह मन्त्रालयको प्रेस विज्ञप्तिमा मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सोको संचालक समेतलाई दण्ड जरीवाना गर्ने जनाइएको छ। काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक अन्य सबै यात्रुवाहक साधनलाई बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म आगमन निषेध गर्ने, काठमाडौं उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय घटना भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारी साधनहरु साउन २२ गतेदेखि लागु हुनेगरी जोर-बिजोर नम्बरका आधारमा संचालनमा गर्ने समेत मन्त्रालयको निर्देशन छ।

त्यसैगरी काठमाडौँ उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय घटना भएका जिल्लाका शहरी इलाकाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने भनिएको छ। नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने र होटल, रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गर्ने भनिएको छ।

गृह मन्त्रालयले २१ साउनदेखि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधरणको प्रवेशमा समेत रोक लगाएको छ।

सरकारले शंका लागेका व्यक्तिलाई निगरानी नगरेको आरोपकाे जवाफमा प्रवक्ता डा गौतमले स्वाब संकलन गरेका शंकास्पद व्यक्तिकाे नतिजा नआउँदासम्म उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए।

सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विभिन्न जिल्लामा ‘निषेधाज्ञा’ जारी गरेको छ। हालसम्म १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्। ५ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २० गते शंकास्पद विरामीको सम्पर्कमा आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाब केन्द्रमा विहानको ९ बजेदेखि १ बजेसम्ममा स्वाब संकलन गर्न अनुरोध गरेको छ। मन्त्रालयले पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, काठमाडाैँ मेडिकल कलेज अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसुती गृह, स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल-कोरिया मैत्री अस्पताल लगायत सम्पूर्ण हब अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु र कोभिड अस्पताल लेभल १,२,३ मा स्वाब संकलन गरिने जनाएकाे छ।

कस्ता छन् स्वास्थ्य पूर्वाधार ?

हालसम्म नेपालमा ३६ वटा कोभिड-१९ परीक्षण केन्द्रहरु रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान’ अनुसार नेपालका अस्पतालमा कुल २६,९३० शय्या छन् भने १,५९५ आइसियू, ८४० भेन्टिलेटर, ३,०७६ आइसोलेसन बेड छन्।

आइसियू सुविधा भएका अस्पताल १९४ वटा, कोभिड-१९ क्लिनिक चलाउने अस्पताल १११ वटा, लेभल-१ का कोभिड अस्पताल १३ वटा, लेभल-२ अस्पताल १२ वटा र लेभल-३ अस्पताल ३ वटा छन्।

नेपालमा कोभिड-१९ का संक्रमितका लागि छुट्याइएको स्वास्थ्य पूर्वाधार :

शय्या कोभिड-१९ आइसोलेसन बेड आइसीयू भेन्टिलेटर
लेभल १ १६७२ ५०० ८७ ३९
लेभल २ ३६०१ ५६९ १४० ५९
लेभल ३ २४३० १२२ १५३ ५२
प्रादेशिक क्लिनिकहरू २१५४ ५८१ २९ १०
जम्मा ९८५७ १७७२ ४०९ १६०

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी सुरु   (चैत ११ गते) भएयताका  साढे दुई महिनामा उल्लेख्य रूपमा स्वास्थ्य पूर्वाधार थपिएको बताए। उनका अनुसार आइसोलेसन बेडको सङ्ख्या १३६८ बाट ६६७१ पुर्‍याइएको छ भने आइसीयूको सङ्ख्या १५५१ बाट १७०२ पुर्‍याइएको छ।त्यस्तै भेन्टिलेटर ७७० बाट ९०० पुर्‍याइएको उनले बताए।

अस्पतालहरूले कोभिड१९ का बिरामीको चाप थेग्न सक्छन् ?

गत साउन २२ को पत्रकार सम्मेलनमा स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यका सहितका घना बस्ती भएका क्षेत्रहरूमा सङ्क्रमितको संख्या बढेकाे बताउँदै  ‘अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीहरूको अभाव हुने सम्भावना रहेको’ बताए। “सङ्क्रमण बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैनन्,” उनले भने ।

तर विज्ञहरुका भनाइमा यतिखेर अधिका‌ंश कोभिड-१९ संक्रमितलाई अस्पतालमा भर्ना गरिएकोले यस्ताे समस्या आएकाे हाे। डा पुष्पमणि खराल भन्छन्, “संक्रमित भएका तर लक्षण नभएका मान्छेहरुलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था छैन।” डा खरालका अनुसार सामान्य लक्षण भएका, आईसीयू, भेन्टिलेटर नचाहिने सङ्क्रमितलाई होम क्वारेन्टाइनमा बस्दा या स्थानीय स्तरमा आइसोलेसन केन्द्रहरु बनाएर राख्दा हालको चाप ७० प्रतिशत कम हुनसक्ने देखिन्छ।

अब के गर्ने ?

प्रधानमन्त्रीको विज्ञहरूसँगको परामर्श बैठकमा सहभागि जनस्वास्थ्य वैज्ञानिक डा समिरमणि दीक्षितले आफूहरूले दिएका कतिपय सुझाव सरकारले मानेको बताउँछन्। “मास्क नलगाउने प्रवृत्ति र मानिसले भाइरसलाई हल्का रुपमा लिएको कुरा हामीले ध्यानार्कषण गराएका थियौँ । गृह मन्त्रालयले समेटेछ,” दीक्षितले भने। “कोभिड-१९ पूर्णरुपमा नियन्त्रणमा आउने रोग होइन । यो कम गर्न केही हदसम्म नियन्त्रण गर्ने हो। एकजनाले ३ देखि १२ जनालाई सारेको देखिन्छ।”

सरकारले परिक्षणको दरलाई बढाउनु पर्नेमा दीक्षितको जोड थियो। उनले थपे, “सरकारले के सोच्छ भने परीक्षण गरेर फाइदा छैन। लक्षण नभएका मान्छे आफै ठीक हुन्छन् र लक्षण भएका अस्पतालमा आउँछन्। तर लक्षण नभएकाले सार्ने सम्भावना बढी छ। वीरगञ्जतिर भएको त्यही हो। क्वारेन्टाइनमा बसेका लक्षणविहीनहरुले समुदायमा सारेको देखिन्छ। अब सरकारले परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ।”

डा. पुष्पमणि खरालले एक-दुई हप्ता संक्रमण धेरै भएको क्षेत्रमा बन्दाबन्दी गरेर चेन अफ ट्रान्समिसन (सङ्क्रमण फैलने क्रम) रोक्नुपर्ने बताए। “अब पीसीआर टेस्ट सँगै एण्टी जीन बेस्ड र्यापिड किट टेस्ट पनि गर्नुपर्छ। यसो गरिए छोटो समयमा धेरैको टेस्ट गर्न सकिन्छ र नतिजा पनि १५-२० मिनेटमा आउँछ,” उनले भने, “आरडिटीले (द्रूत परीक्षण कीट) एन्टीबडी हेर्छ भने यसले भाइरसको भाग पत्ता लगाउँछ । जुन रोग लागेको १ हप्ता अगाडिनै पत्ता लाग्छ जबकि आरडिटी टेस्टमा हप्ता दश दिनपछि मात्र देखिन सक्छ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालैकाे पत्रकार सम्मेलनमा जनताले मास्क लगाउने, अति आवश्यक नभई घरबाट ननिस्कने, २ मिटरको दुरी कायम गर्ने र कम्तिमा २० सेकेन्डसम्म मिचीमिची साबुनपानीले हात धुने, साबुनपानी नभए स्यानिटाइजरको प्रयोग गर्न आह्वान गरेका थिए।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री